काठमाडौं– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले सरकारले कार्यसम्पादन सम्झौताको सुरुवात गरेर नयां कार्यशैली अपनाएको बताएका छन् । उनले जनताको अपेक्षालाई पुरा गर्न आफु पनि अहोरात्र खट्ने भन्दै मातहतका निकायलाई परिणाम दिने गरी काम गर्न निर्देशन दिए ।


ADVERTISEMENT


तेस्रो चौमासिक एवं वार्षिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बिहिवार बोल्दै मन्त्री पुनले परिणाम आउने गरी काम नगरे कसैसंग पनि सम्झौता नगर्ने चेतावनी दिए । उनले प्रधानमन्त्री र सरकारको प्राथमिकता भनेको जनताको प्राथमिकता भएको भन्दै सरकारले अघि सारेको योजनालाई मन भित्रैबाट पुरा गर्न मातहतका निकायलाई निर्देशन दिए


ADVERTISEMENT

# # #


मन्त्री पुनले भने, ‘अव प्रक्रिया मात्र भनेर हुदैन्, तपाईहरुले तालिका बनाएर नै काम गर्नुपर्यो । सरकारले अघि सारेको कामलाई सफल पार्नु हामि सवैको दायित्व हो ।’ उनले आफु झण्डा हल्लाउन मात्र मन्त्री नभएको भन्दै काम नगरे कसैलाई पनि जिम्मेवारीमा नराख्ने चेतावनी दिए ।

‘काम नगर्ने हो भने पद ओगटेर मात्र वस्न कसैलाई पनि छुट छैन्, आयोजना प्रमुख दुई वर्ष बस्नुपर्छ भन्ने हुंदैन, सचिव र मन्त्री पनि पदमा टिक्नैपर्छ भन्ने छैन् ।’ मन्त्री पुनले कडा शव्दमा भने । नेकपाका नेता समेत रहेका उनले अव काम नगर्ने कर्मचारीसंग आफुले कुनै पनि हालतमा सम्झौता नगर्ने प्रस्ट पारे । उनले हरेक महिना मन्त्रालयमा समिक्षा बैठक राखेर कामको प्रगती विवरण लिने घोषणा समेत गरे ।

‘चिनेका साथी भाई हुन् काम गरिहाल्छन् नी भनेर मैले भन्ने अवस्था छैन्, मलाई परिणाम चाहिएको छ । परिणाम नदिने हो भने मैले विकल्प खोज्नुपर्ने हुन्छ ।’ मन्त्री पुनले भने । उनले अधिकृतभन्दा माथीका कर्मचारीलाई सचिव,मन्त्री वा विभागिय प्रमुखले मन पराए पनि नपराए पनि काम परिभाषित गरेर जिम्मेवारी दिन मातहतका उच्च अधिकारीलाई निर्देशन दिए ।

कागजमा निर्देशन दिने र प्रगती देखाउने प्रवृतिलाई निरुत्साहित गर्नेुपर्ने भन्दै मन्त्री पुनले राष्ट्रिय गौरवका आयोजनाको हकमा फिल्डमै गएर काम कार्वाही बुझ्न र परिणाममुखी काम गर्न उनले सम्बन्धीत कार्यालय प्रमुखहरुको ध्यानआकर्षण समेत गराए ।