काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष एवम् नेपाल वायुसेवा निगमका जापानका एकमात्र प्रतिनिधि देवमान हिराचनले निगमले जापान उडान स्थगित गर्ने निर्णय गरेको प्रति आपत्ति जनाएका छन् । जापानको ओशाकामा आगामी जुलाई ४ तारिखबाट गर्ने भनिएको वाईडबडीको उडान स्थगित् गरेको भन्दै उनले आपत्ति जनाएका हुन् ।


ADVERTISEMENT


उनले नेपाल र जापान दुवै देशका सरकारी तथा प्राविधिक प्रतिनिधि बसेर उडानको लागि मिति नै तय गरिएको अवस्थामा निगमले एक्कासी विना कारण उडान स्थगित गर्नु आफैंमा अशोभनीय भएको टिप्पणी गरे । शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै हिराचनले टिकट बुकिङ नभएकै कारण उडान स्थगित् गरिएको भन्ने निगमको भनाईमा कुनै सत्यता नै नभएको जिकिर गरे ।


ADVERTISEMENT

# # #


‘नेपाल एयरलाईन्सको जापानी टिकट बुकिङ प्रणाली नै तयार भएको छैन। यस्तो अवस्थामा निगमले बुकिङ खुल्ला गर्नुपर्दथ्यो, बुकिङ नै नखुलाई एक्कासी टिकट बुक नभएको बहाना बनाएर ओशाका उडान स्थगित् गर्नु रहस्यमयी छ ।’ उनले भने, ‘यसमा नेपाल सरकार खासगरी सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले विशेष ध्यान पुर्याउनुपर्छ ।’

उनले नेपाल एयरलाईन्सले जापानसँग उडानको लागि सम्झौता गर्नु ठूलो उपलब्धि भएपनि यसको लागि गर्नुपर्ने आवश्यक धेरै कामहरु नेपालको तर्फबाट द्रुत गतिमा नभएकोपनि गुनासो पोखे ।

नेपालबाट जापान सिधा उडान भर्ने सम्झौता भएकै दिनदेखि जापानीहरु उक्त सम्झौताबारे खुशी रहेको आफूले पाएको सुनाउँदै उनले नेपाल वायु सेवा निगमले टिकट निकाल्नको लागि कुनै चासो नदेखाएको प्रति गुनासो गरे ।

उनले गत अप्रिलदेखि सबै जापान सरकारको कानूनअनुसार नेपाल वायु सेवा निगमको उडानको लागि चाहिने आवश्यक कागजपत्र र अनुमति आफ्नै नेतृत्वमा दर्ता भैसकेको पनि स्मरण गराए । ६ दशक वितिसक्दापनि नेपाली जनताको ध्वजाबाहक नेपाल वायु सेवा निगमको सरकारी कर्मचारीहरुको लापरवाहीले गर्दा अहिलेसम्म पनि निगमको कुनै राम्रो सन्तोषजनक उपलब्धि हाँसिल नभएको उनको टिप्पणी छ ।

उनकाअनुसार ईन्टर एभिएशन जापान (आईएजे) को सहयोग र सल्लाहअनुसार ६ महिना समय लगाई ओशाका उडानको सबै तयारी जापानको तर्फबाट सम्पन्न भैसकेको छ । ओशाकामा नेपाल वायुसेवा निगमको कार्यालयपनि तयार भैसकेको उनले सुनाए ।

उनले दिर्घकालिन महत्व बोकेको नेपाल–जापान सिधा हवाई उडान सम्झौतालाई नेपाल वायु सेवा निगमले गरेको खेलबाडका कारण नेपाल–जापान द्धिपक्षीय सम्बन्धमा पनि आगामी दिनमा असर पुग्नेबारे चिन्ता व्यक्त गरे । उनले भने, ‘यस्तै रवैया रहिरहे नेपाल वायु सेवा निगमलाई भविष्यमा जापान यात्रा तय गर्न निकै गाह्रो हुने मैले देखेको छु।’