काठमाडौं– नेकपा महासचिव विष्णु पौडेलले आफू र छोरा नवीन पौडेलको नाममा रहेको बालुवाटारको जग्गाबारे भ्रम सिर्जना गर्न खोजिएको दाबी गरेका छन् ।


ADVERTISEMENT


कित्ता नं. ३०९ को क्षेत्रफल ०–०–१–१ र कित्ता नं. ३१५ को क्षेत्रफल ०–७–२–३ (कूल आठ आना) जग्गाका सम्बन्धमा वास्तबिकता ओझेल पर्नेगरी समाचारहरू प्रकाशित भएको उनले दाबी गरेका छन् ।


ADVERTISEMENT

# # #


‘सरकारी जग्गा हडप्ने दुषित मनसायले कागज श्रेस्ता मिलाई किर्ते, जालसाजी वा गैरकानुनी कार्य गरी जग्गा दर्ता गर्ने वा गराउने कुनै कार्यमा म र मेरो परिवारका कुनै पनि सदस्यको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता नरहेको र कहिल्यै नरहने पनि अवगत गराउन चाहन्छु ’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मेरो निम्ति यस्तो अपराधजन्य गतिविधि सोच्नसमेत नसकिने बिषय हो ।’

उनले २०६१ पुस २९ गते काठमाडौँ महानगरपालिका वडा नं. ४, बालुवाटारस्थित उक्त ८ आना जग्गाको दर्ता श्रेस्ता सम्बन्धित मालपोत कार्यालयमा बिक्री गर्ने व्यक्ति उमा ढकाल र माधवी सुवेदीको नाममा कायम रहेको र प्रचलित कानुनबमोजिम सम्बन्धित कार्यालयले खरिद बिक्री गर्न मिल्ने एकिन गरी लिखत पारित गरी लाग्ने राजश्व लिई छोरा नवीन पौडेलको नाममा पास गरिदिएको समेत जनाएका छन् ।

सो जग्गा आफूले २०६१ असोज २४ गते नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नं. १० (साविक तिलकपुर गाउँ विकास समिति, वडा नं. ३) मा पूर्व–पश्चिम राजमार्ग नजिकै श्रीमतीको नाममा रहेको ८ कठ्ठा जग्गा बिक्री गरी प्राप्त श्रोतबाट खरिद गरिएको पनि बताएका छन् ।

त्यतिबेला आफू मन्त्री, साँसद वा कुनै पनि तहको जनप्रतिनिधिको जिम्मेवारीमा नरहेको स्पष्ट पारेका छन् । आफूले सो जग्गाबारे २०६४ सालमा रुपन्देही जिल्लाबाट संविधानसभा सदस्यमा निर्वाचित भएपश्चात् बार्षिक रुपमा सम्पत्ति विवरणमा उल्लेख गरिरहेको पनि उनले स्मरण गराएका छन् ।

उनले यस सम्बन्धमा राज्यको औपचारिक र आधिकारिक निकायबाट यथाशीघ्र छानविन माग गर्दै उनले निष्कर्षहरू कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । उनले भनेका छन्, ‘राज्यको आधिकारिक निकायबाट हुने छानविनका निष्कर्षहरू प्रति मेरो दृढ समर्थन रहनेछ । म माथि लगाइएका आरोपहरू पुष्टि गर्न सम्बद्ध सबैलाई आह्वान गर्दछु साथै सत्यको कसीमा ती आरोपहरु स्वतः खण्डित हुनेछन् ।’

यसअघि पनि पौडेलले एक विज्ञप्तिमार्फत जग्गा घोटाला प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका थिए । तर यो विषयले थप उग्ररुप लिइरहँदा पौडेलले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आजाव समेत उठ्न थालेको छ ।

यस्तो छ विज्ञप्ती :