काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले लगानी सम्मेलन गर्नु आवश्यक रहेको स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


बिहीबार रिपोर्टर्स क्लबमा बोल्दै नेता महतले लगानी सम्मेलन स्वागतयोग्य भएपनि तयारी नपुगेको बताएका छन् । ‘मुलुकको विकास र समृद्धिको लागि विदेशी लगानी आवश्यक छ, त्यसैले सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन स्वागतयोग्य छ’ उनले भने, ‘तर, यसको लागि जति तयारी र छलफल गर्नुपर्ने थियो त्यो भएको छैन्।’


ADVERTISEMENT

# # #


नेता महतले विदेशी लगानी भित्र्याउनुपर्छ भनेर तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नै सुरुवात गरेको सुनाए । उनले वामपन्थी सरकारले पनि गिरिजाबाबुले अघि सारेको कुरालाई स्वीकार गरेर लगानी सम्मेलन गर्न लागेकोमा खुशी व्यक्त गर्दै लगानी नबढाएर मुलुक विकास हुन नसक्ने बताए ।

विदेशी लगानी आकर्षणको लागि सरकारले केही पूर्व आवश्यकत्ताहरु पूरा गर्नुपर्ने उनको सुझाव थियो । उनले भने,‘अहिले केही नयाँ कानुनहरु पारित भएका छन्, तर विदेशी लगानीको लागि नेगेटिभ लिष्ट पहिलेभन्दा लामो बनाईएको भनिएको छ।’

महतले औद्योगिक, कृषिलगायतका क्षेत्रमा विदेशी लगानी ल्याउन जरुरी रहेको सुनाए । एकद्वार प्रणाली गरिएको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेपनि कुनै काम गर्दा दर्जनौं कार्यालयहरु धाउनुपर्ने बाध्यता विद्यमान रहेको कुरा उद्योगी तथा व्यवसायीहरुले गुनासो गर्ने गरेको उनले सुनाए ।

तीन वर्ष पहिले काठमाडौंमा भएको लगानी सम्मेलनको स्मरण गराउँदै उनले उक्त सम्मेलनबाट आएको प्रतिबद्धताअनुसार लगानी नआएकोमा अब सरकारले गम्भिर समिक्षा गर्नुपर्ने धारणा राखे । उनले प्रतिबद्धता गरिएको लगानी किन आएन ? भन्ने विषयमा छलफल तथा छानबिन हुनुपर्नेमा पनि जोड दिए ।

फरक प्रसँगमा उनले आफू गुट तथा उपगुटको पक्षमा नरहेको स्पष्ट पारे । उनले भने, ‘पार्टीका आन्तरिक कुराहरु बाहिर धेरै गर्न जरुरी छैन, म गुटको पक्षमा छैन ।’ उनले गुटभन्दा माथि उठेर पार्टीलाई चलाउनुपर्ने धारणा राखे । उनले प्रतिपक्षीको भूमिका पनि प्रभावकारी हुन नसकेको बताए ।