• लक्की शेर्पा, अष्ट्रेलियाका लागि पूर्वराजदूत

अहिले अष्ट्रेलियाबाट नेपाली विद्यार्थीहरुको जुन किसिमका समस्या बाहिर आएका छन् नि, यसलाई पूर्वराजदूतको हिसाबले कसरी नियाली रहनु भएको छ ?


ADVERTISEMENT


यो अत्यन्तै गम्भिर समस्या हो भन्ने मलाई लाग्छ । देशको एउटा नागरिक विदेशमा गएर चिच्याइरहनु छ र गुहार मागिरहनु भएको छ । यो समस्याको निराकरणका लागि सरकार गम्भिर हुनुपर्छ भन्ने मलाई लाग्छ ।


ADVERTISEMENT

# # #


कसरी समस्यामा पर्ने गरेका छन् नेपाली बिधार्थीहरु ?

उच्च शिक्षा हासिल गर्नका लागि अष्ट्रेलियालाई नेपाली विद्यार्थीले एउटा सपनाको गन्तव्यका रुपमा लिएका छन् । विदेशमा गएपछि सबै कुराको राम्रो व्यवस्था हुन्छ भन्ने जुन किसिमको हाम्रो मानसिकता छ, त्यसले पनि कहीँ न कहीँ असर गरेको हो जस्तो पनि लाग्छ । उच्च शिक्षाका लागि विदेश जानुभन्दा पहिले जाने ठाउँ भनेको यहाँका एजुकेसन कन्सल्टेन्सीहरु हुन् । जबसम्म हाम्रो कन्सल्टेन्सीहरुलाई मोनिटरिङ गरेर उहाँहरुलाई शैक्षिक जानकारी दिने तहसम्म पुर्याउन सक्दैनौँ, तबसम्म यस्ता समस्याहरु दोहोरिरहन्छन् ।

यो अहिले नेटवर्किङ व्यवसाय जस्तै भएको छ । किनभने अष्ट्रेलियामा उच्च शिक्षालाई एकदमै फैलिएको व्यवसायका रुपमा लिइन्छ । यो क्षेत्रमा लागेकाहरुको प्राय एकदमै राम्रो व्यवस्थापन भएको देखिन्छ । तर तपाई जब विद्यार्थी हेर्नुहुन्छ नि, उनीहरुको स्थिति भयावह र दयनीय छ । नेपाली विद्यार्थीहरु अष्ट्रेलिया जानका लागि निकै प्रयासरत हुन्छन्, यता कन्सल्टेन्सीहरु आफूले सहकार्य गरेको शैक्षिक संस्थामा जानका लागि विभिन्न किसिमका सुविधाहरु देखाएर बिधार्थीहरुलाई एकोहोरो बनाएका हुन्छन् । तर त्यहाँ पुग्दा अघि नेपालमा भनिएका धेरै कुराहरु हुँदैनन् । यहीँबाट समस्याको सुरुवात हुन्छ । स्थिति हामी जति खोतल्छौँ, त्यती नै भयावह पाउँछौँ ।

खासगरी यसरी ठगिएका विद्यार्थीले त्यहाँ पुगेपछि भोग्ने समस्याहरु के के हुन् ?

सबैभन्दा पहिलो कुरा त उहाँहरुले नेपालमा भनेजस्तो सेवा सुविधा त्यहाँ पुगेपछि पाउनुहुन्न । त्यहीँबाट एक किसिमको ‘फ्रस्टेसन’ पैदा हुन्छ । भारी ऋण गरेर प्राय मध्यमवर्गीय नेपालीका छोराछोरी अष्ट्रेलिया गइरहेका हुन्छन् । कलेजको शुल्कदेखि आफूलाई बस्ने व्यवस्थापन र काम खोज्ने चटारो लगायतका समस्याले गाँज्न थाल्छ । एकातिर ऋण चुक्त गर्ने चिन्ता, अर्कोतिर व्यवस्थापनको समस्याले न त पढाई राम्रो हुन्छ, न त पैसा नै । त्यसका लागि त्यहाँ तल्लो स्तरको काम गर्न पनि तयार हुनुपर्छ । यही कारणले अष्ट्रेलियामा नेपाली विद्यार्थीको आत्महत्या दर दिन प्रतिदिन बढ्दै गइरहेको छ । यो एकदमै चिन्ताको विषय हो । त्यसकारण हामी आँखा चिम्लेर बस्नुपर्ने अवस्था छैन । त्यसका लागि मैँले यसअघि पनि सरकारको ध्यानाकर्षण गराएकी थिएँ । त्यो बेला यो कुरा सुनिदिएको भए, सायद अहिले यस्तो अवस्था आउने थिएन ।

उच्च शिक्षाका लागि अष्ट्रेलियामा विद्यार्थी पठाउने देशमा हामी पाँचौ नम्बरमा थियौँ । तर यो दुई वर्षमा हामी तेस्रो नम्बरमा आएका छौँ भारत र चीनपछि । जतिपनि विद्यार्थी त्यहाँ पुगे, कति विद्यार्थी उच्च तहमा काम गर्नुहुन्छ भनेर मैँले त्यहाँ खोजबिन गरेकी थिएँ । शिक्षा पाइसकेपछि त्यो किसिमको काम पाउनु पर्यो नि त, तर अवस्था त्यो छैन । एकदमै कम विद्यार्थीहरु पढाई अनुसारको काममा पुगेका हुन्छन् । नेपाली विद्यार्थीको त कुरै नगरौँ । एकदमै थोरै छन् । यसमा हामीले सोच्नै पर्छ ।

उसो भए नेपाली बिधार्थीहरुले दुख नपाउने समाधानको बाटो के हुनसक्छ त ?

पहिलो कुरा त के हो भने सर्वप्रथम हामीले युवाहरुलाई आफ्नै देशमा रोक्नका लागि काम थाल्नुपर्छ । के कारणले उनीहरु विदेशीरहेका छन् अध्ययन गरेर ती सेवा सुविधालाई नेपालमा नै दिलाउने वातावरण बनाउनु पर्छ । वैधानिक तरिकाले पैसा कमाएका कन्सल्टेन्सीहरुलाई हाम्रो कुनै पनि प्रश्न छैन । कतिपयले विद्यार्थीको भविष्य बनाइदिएका छन् । तर, विद्यार्थीको भविष्य डामाडोल पार्ने कन्सल्टेन्सीलाई त हामीले मोनिटरिङ गर्न आवश्यक छ । यो विषय पहिले उठिसकेको पनि थियो । त्यतिबेला नै सरकारले कदम चालेको भए आज यो समस्या उत्पन्न हुँदैनथ्यो ।

अहिले पनि कतिपय कन्सल्टेन्सीहरुले एआइबटी जुन खारेज भएको छ, त्यसमा पठाउने भनेर पैसा लिइरहेका छन् । यो गम्भिर मुद्दा होइन भने केलाई गम्भिर भन्ने ? समस्यामा परेकालाई सबैले एउटा सामाजिक उत्तरदायित्वका हिसाबले सहयोग गर्नैपर्छ ।
कन्सल्टेन्सीहरुले उल्टै समस्यामा परेका विद्यार्थी र उनीहरुको परिवारलाई धम्क्याउने गरेको कुराहरु आइरहेका छन् ।
यो त सरासर माफियातन्त्र हो नि । कन्सल्टेन्सीलाई हामीले यसरी खुलेआम लुट्न दिने ? यो त राम्रो भएन नि । यसमा सरकारले पनि आफ्ना कमजोरीहरु सुधार्नु पर्छ । आज तपाई पुतलीसडकदेखि बागबजारका सडकछेउमा हेर्नुस्, एउटै घरमा कती छन् कन्सल्टेन्सी ? आफ्नो युवाहरु यसरी ठगिरहँदा त्यसमा राज्यले ध्यान दिनुपर्दैन ? यसमा हामी सम्बन्धित सबै पक्षले सरकारलाई झक्झक्याउनै पर्छ ।

तपाई पनि त राजदूत बनेर अष्ट्रेलियामा राजदूत बनेर नेपालको प्रतिनिधित्व गर्नुभयो । आफ्नो कार्यकालमा यो सम्बन्धि के कस्ता काम गर्नुभयो ?

पहिलो कुरा त विद्यार्थीको आत्महत्या एकदमै बढेको, डिप्रेसनको दर बढेको कुरालाई सम्बोधन गर्नका लागि र कन्सल्टेन्सीहरुबाट झुठा डकुमेन्टहरु बनाएर ठगिएको कुरालाई सम्बोधन गर्नुपर्छ भनेर बारम्बार हामीले रिपोर्ट पठाएका थियौँ । सरकारले त्यो सम्बन्धि नीति बनाओस् र समस्या समाधान गरोस् भनेर हामीले त्यस सम्बन्धि रिपोर्टहरु पठाएका थियौँ । तर सरकारले त्यसमा ध्यान दिएन । अष्ट्रेलियाका निकायसंग पनि मिलेर हामीले विभिन्न काम गरिरहेकै थियौँ । एउटा राजदूतको भूमिका भनेको आफ्नो देशका नागरिक त्यो देशमा जाँदा कुनै समस्या उत्पन्न हुन नदिनका लागि हो । त्यसमा मैँले आफुले सकेको गरेको छु । मैले बारम्बार त्यहाँको रिपोर्टहरु नेपाल सरकारलाई पठाइरहेकै थिएँ । तर, परराष्ट्रमा पठाएको रिपोर्ट प्राय सँधै बाहिर किन ‘लिक आउट’ भए ? यो मेरो मात्रै होइन, मभन्दा पहिलेका राजदूहरुको पनि गुनासो थियो । परराष्ट्रमा गएका रिपोर्टहरु किन सुरक्षित हुँदैनन् ? यो गम्भिर कुरा हो । अन्य देशमा यस्तो हुँदैन । त्यसकारण यसमा परराष्ट्रले ध्यान दिनुपर्छ । कुनैपनि कर्मचारीले विदेशनीति सम्बन्धी रिपोर्टहरु बाहिर ल्याउँछ भने त्यसलाई कारबाही गर्नुपर्छ ।

अष्ट्रेलिया र नेपालको सम्बन्ध अहिले कुन हिसाबमा बढिरहेको छ ? सम्बन्धलाई नेपालको हित अनुकुल बनाउन के गर्नुपर्छ ?

अष्ट्रेलिया र नेपालको सम्बन्ध त राम्रै हो । तर नेपालको व्यापार घाटा अत्यन्तै उच्च छ । एउटा विकशित देशसंग कुटनीतिक सम्बन्ध अगाडी बढाउनका लागि हामीले उहाँहरुसंग बार्गेनिङ गर्न सक्नुपर्यो । अष्ट्रेलियाको अर्थतन्त्रमा नेपाली विद्यार्थीहरुको ठूलो यागदान छ । त्यसबाट हाम्रो विद्यार्थीहरुले के पाइरहेका छन् त ? मैले हरेक फोरमहरुमा यो कुरा उठाउँथे । त्यहाँका शिक्षामन्त्रीसंग पनि मैँले जुन अपेक्षाका साथ नेपाली विद्यार्थी आएका थिए, त्यो अनुसारको शिक्षा वा रोजगार पाउन सकेनन् भनेर कुरा उठाएकी थिएँ । आउँदो समयमा अष्ट्रेलियामै पढेका नेपाली विद्यार्थीहरु पनि त्यहाँको सरकारको उच्च तहसम्म काम गरेको हामी देख्न चाहन्छौँ भन्ने अनुरोध पनि गरेकी थिएँ । उहाँले त्यसलाई गम्भिरताका साथ लिनुभएको पनि थियो । तर जबसम्म हाम्रो सरकारले यी यावत विषयको बारेमा अष्ट्रेलियन सरकारसंगै बसेर छलफल गर्दैन, तबसम्म यो हुनसक्दैन ।

तर अहिले अष्ट्रेलियामा नेपाली राजदूतावास त अभिभावकविहीन अवस्थामा छ । यसले पनि समस्या पार्ला नि ?

यसको समस्या त अष्ट्रेलियामा रहेका नेपालीहरुले अनुभव गरिसक्नु भएको छ । अभिभावकत्व भनेको एकदमै महत्वपूर्ण कुरा हो । थमैले त दिन रात नभनी त्यहाँका समस्याहरु बुझेर सरकार समक्ष जानकारी गराउने र समाधानको बाटो अघि बढाउन खटिरहेको थिएँ । अब त्यो कुरा रोकिएको छ । नेपाली समुदायहरुसंगै भिज्न रुचाउथेँ म, उहाँहरुका कुराहरु सुन्ने अनि देशको छहारी छ है भन्ने अनुभुती गराउन खोज्थेँ । त्यो पनि रोकिएको छ । खराब तत्वको नियोजित खेलले गर्दा अहिले अष्ट्रेलिया साँच्चै तपाईले भने जस्तै अभिभावक बिहिन झैँ बनेको छ ।

तपाईले पदबाट राजीनामा दिँदै गर्दा एक दिन मर्ने जीवनमा गलत गर्ने । छैन तर मलाई अन्याय भएकोमा न्याय पाउँ भन्नु भएको थियो । भएको चाहीँ के थियो ?

काम धेरै गर्न खोजियो भने यस्तै रोकावटहरु आइराख्छन् । हाम्रो नेपालमा एउटा ‘ट्रेन्ड’ नै त्यस्तै भएको छ । केही गर्न खोज्नेहरुलाई हौसला दिनुको साटो मनोबल गिराउने काम हुन्छ । मिडियाको तथ्यहीन सानो हावालाई धेरै ठूलो बनाइदिने गर्नाले पनि यी सबै समस्याहरु आएका हुन् । हामी एउटा विकासोन्मुख राष्ट्रको हिसाबले पनि हाम्रो सोच्ने संस्कृति र परम्परामा परिवर्तन हुन आवश्यक छ । आज म शिकार भएँ, भोलि अर्को हुन्छ । यसबाट जबसम्म हामी नेपाली मुक्त हुँदैनौँ, यो दोहोरिरहन्छ । हामीले विकशित देशमा पनि हेर्नुपर्छ, त्यहाँको समाज कसरी अगाडि बढिरहेको छ भन्ने कुरामा । मलाई लाग्छ समयक्रमले यी कुराहरुलाई चिर्दै जान्छ ।

तपाई सम्बन्धी यो बीचमा जे जस्ता कुराहरु भए । त्यसमा तपाईको भनाई के छ ?

दुई वर्षको कार्यकालमा मैँले त्यहाँको सरकार, त्यहाँको समाज र नेपाली समुदायसंग निरन्तर सम्पर्कमा रहेर एउटा जनताको राजदूत बन्ने सक्दो कोशिस गरेँ । यसमा मैँले कति सफलता पाएँ, त्यो उहाँहरुले नै समिक्षा गर्नुभएको होला । तर मैले आफ्नो उत्कृष्ट दिने प्रयत्न गरेकै हुँ । त्यहाँको समुदायले अहिले पनि मलाई सम्पर्क गरिरहनुहुन्छ । यसमा म खुसी छु । मैँले कमाएको सम्पत्ति पनि त्यही नै हो जस्तो लाग्छ । आलोचना गर्नेहरुलाई त रोक्न सकिन्न ।

जागिर खान होइन, जनताको सेवा गर्न गएको राजदूत हुँ भन्ने हिसाबले उहाँहरुका गुनासाहरुलाई ग्राउन्ड जिरोमा ल्याउने कोशिस गरेँ । राजदूतावासमा फोन नउठ्ने देखि यावत समस्याहरु गाँजिएका थिए । त्यस्ता समस्याहरुबाट राजदूतवासलाई मुक्त पारेँ । त्यो पनि सफलता हो नै जस्तो लाग्छ । विद्यार्थीको हकमा नेपाल सरकार गम्भिर हुनैपर्छ । यसका लागि म उहाँहरुलाई चाहिएको सहयोग गर्न तयार छु ।र्

तपाईं त सभासद समेत भईसक्नु भएको छ । राजदूत बन्नुभयो । देश र जनताका लागि नयाँ के जिम्मेवारी अनुसार भूमिका निर्वाह गरौं भन्ने योजना छ ?

योजना त अवश्य नै भइहाल्छ । तर आज यहाँसम्म आइपुग्दाखेरि मलाई के महशुस भयो भने कुनैपनि काम गर्नलाई पद नै चाहिन्छ भन्ने छैन । एउटा साधारण व्यक्तिले पनि आफ्नो ठाउँबाट धेरै कुराहरु गर्न सक्छ । जुनसुकै भूमिकाको जिम्मेवारी कुशलता पूर्वक, ईमान्दारिताका साथ पुरा गर्छु भन्ने आत्मबिश्वास छ । मैले त आफ्नो जीवन देश र जनताकै सेवाका लागि समर्पण गरिसकेँ, त्यसका लागि जुनसुकै योगदान दिन म तयार छु ।