काठमाडौँ – उदयपुरको त्रियुगा नगरपालिकामा गौरवको आयोजनाको रुपमा लिइएको शहरी सडक निर्माण योजना कार्यान्वयनमा आएको छ ।


ADVERTISEMENT


विश्व बैङ्कको सहयोगमा सञ्चालित परियोजना त्रियुगा नगरपालिकाका ४ वडाको करिब १५ किलो मिटर सडक १५ महिना भित्र निर्माण सम्पन्न हुने गरि कार्यान्वयनमा आएको हो । दुई प्याकेजमा निर्माण हुने यो सडक त्रियुगा नपाका वडा न १० ११ १२ र १३ नम्बर वडामा निर्माण हुनेछ भने यसको कूल लागत ६६ करोड रहेको त्रियुगा नगरपालिकाले जनाएको छ ।


ADVERTISEMENT

# # #


पहिलो प्याकेजमा त्रियुगा नपाको वडा नं १० र ११ को करिब दश किलोमिटरका लागि ४५ करोड ६१ लाख ६२ हजार ८६२ रुपैयाँमा ठेक्का सम्झौता भएको, दोश्रो प्याकेजमा त्रिनपाको वडा नं १२ र १३ को सडकका लागि २० करोड ३८ लाख ४८ हजार २ सय ७८ मा ठेक्का सम्झौता भएको नपाका नगर प्रमुख बसन्त कुमार बस्नेतले जानकारी दिए । विहीबार एक समारोहबीच त्रियुगा नगरपालिकाका नगरप्रमुख बसन्त कुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले सडक निर्माणकार्यको शुभारम्भ गरेका छन् ।

अन्तराष्ट्रिय स्तरको मापदण्डमा बन्ने यी सडकहरु दुई लेनकोे, स्टेट लाइट सहित सम्पूर्ण सुविधा उपलब्ध भएको हुने र निर्धारित समयसिमा भित्रै अवको एकवर्षमा गुणस्तरीय सडक निर्माण सम्पन्न हुने जनाईएको छ ।

आशिष आशीर्वाद स्वामी नारायण जेभीले निर्माण सम्झौता गरेको यो आयोजना संचालनका लागि विश्व बैंकले ७८ लाख अमेरिकी डलर (एक अर्ब रुपैयाँभन्दा बढी) रकम उपलब्ध गराएको थियो । संघीय सरकारको निर्णय र स्थानीय तहको नेतृत्वमा ती सडक निर्माण गरिनेछ । विश्व बैंकसँगको सम्झौतामा ती सवै सडक ०८२ असार ३१ गतेसम्ममा निर्माण सम्पन्न भइसक्नुपर्ने उल्लेख छ ।