काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सहिद दिवसका अवसरमा लैनचौरस्थित सहिद स्मृति पार्क गई श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले मुलुकमा लोकतान्त्रिक शासन स्थापना भइसकेकाले अब अधिकारका लागि कसैले सहिद हुनु नपर्ने बताएका हुन् ।


ADVERTISEMENT


प्रकृतिले धनी बनाएको नेपाललाई सहिदको सपनाबमोजिम सुशासन र आर्थिक विकासका लागि सिङ्गो देश एकबद्ध हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षामार्फत देशलाई आर्थिक रुपान्तरणको चरणमा लाने समय आएको उल्लेख गरे ।


ADVERTISEMENT

# # #


उनले भने, ‘सुशासन कायम गरी भ्रष्टाचारको अन्त्य गर्न आजको दिनमा सबै फेरि सङ्कल्प गरौँ, जनमतलाई सम्मान गर्दै विधिको शासन कायम गरी अधिकारको समानतासहित देशलाई समुन्नत र विकासशील बनाएर भावी पुस्तालाई सुम्पौँ ।’ मुलुकमा प्रजातन्त्र स्थापनाका लागि प्राण आहुति गर्ने सहिदलाई सम्मान गर्न प्रधानमन्त्री ओली लैनचौर पुगेका हुन्। सो अवसरमा नेपाली सेनाको टुकडीले सम्मान अर्पण गरेको थियो ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सरकारको समृद्ध नेपाल, सुखी नेपाली लक्ष्य पूरा गरेर सहिदको सपना पूरा गर्ने समय आएको बताए। कार्यक्रममा मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, विशिष्ट कर्मचारी र जनप्रतिनिधिको सहभागिता थियो । प्रदेश नं ३ सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।