काठमाडौँ– प्रसुतिगृहमा कार्यरत चिकित्सक बबिता शाहकी अपहृत दुई वर्षीया छोरीको आज करीब आठ घण्टापछि सकुशल उद्धार गरिएको छ ।


ADVERTISEMENT


बिहान ८ बजे छोरीलाई घरमा छाडेर अस्पतालमा जाने बित्तिकै कोटेश्वरको खरिबोटस्थित घरबाटै अपहरणमा परेकी बालिकाको प्रहरीले अपराह्न ४ बजे सकुशल फेला पारेको हो । “बिहान ९ बजेतिर घटनाको बारेमा जानकारी आयो, तत्कालै सादा पोशाकसहितका प्रहरी खटायौँ” प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले भने, “अपराह्न ४ बजे तिलगङ्गाबाट बालिका सकुशल फेला पर्यो ।” अपहरणकारी धनुषाका मनिषकुमार गुप्ता फरार रहेकाले खोजी जारी रहेको उनले जानकारी दिए।


ADVERTISEMENT

# # #


बबिताले घरमा छोरा र एक जना काम गर्नेसँग छोरी छाडेर अस्पताल गएपछि करीब ९ बजेतिर छोरी हराएको खबर आएको राससलाई बताए। घटना ८ः३० बजेतिरको भएको प्रहरीको अनुमान छ । उनले तत्कालै प्रहरी प्रभाग कोटेश्वरलाई खबर गरेपछि प्रहरी परिचालन भएको थियो ।

तत्कालै नम्बर र मान्छे पहिचान भएपछि बच्चा खोज्न सहज भएको प्रहरीले जनाएको छ । अपहरणकारी शुरुमा जोरपाटीमा भएको थाहा भयो । त्यसपछि जम्बुडाँडा हुँदै तिलगङ्गामा लोकेसन ट्रयाक भएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता बोगटीले जानकारी दिए ।

तिलगङ्गा क्षेत्रलाई ४० सादा पोशाकका प्रहरीसहितको टोलीले चारैतर्फबाट घेरेपछि अपहरणकारीले बच्चा छाडेर भागेको बोगटीले बताए । बच्चालाई यहाँस्थित गणेश होटल अगाडि फेला पारिएको थियो । प्रहरीका अनुसार जनकपुरमा रहेका उनका आफन्तबाट अपहरणकारीका परिवारले साढे दुई लाख रकम बुझेको जानकारीमा आएको छ । रकम बुझ्ने अपहरणकारी गुप्ताकी श्रीमती र बहिनीलाई पक्राउ गरिसकिएको प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

“अन्य धेरै कुरा खुल्न बाँकी छ, अनुसन्धानपछि सबै पाटा खुल्दै जान्छन्”, प्रहरी परिसरका प्रवक्ता बोगटीले भने । साँझ ५ः३० बजे प्रसुतिगृह काठमाडौँमा बालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो । उनको अवस्था सामान्य रहेको आमा बबिताले बताए । अपहरण मुद्दामा आजै परिसरमा जाहेरी दरखास्त गर्न लागिएको बबिताले बताए ।