काठमाडौं । बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा बिधेयक प्रतिपक्षि नेपाली काँग्रेसको अवरोधका कारण मंगलबार समेत संघीय संसदबाट पारित हुन सकेन । यसअघि पटक पटक कांग्रेसकै अवरोधका कारण रोकिंदै आएको बिधेयकलाई मंगलबार जसरी भए पनि पास गर्ने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको रणनीति थियो । तर मंगलबार पनि बिधेयक पास हुन सकेन, संसदको बैठक नै आगामी शुक्रबार सम्मका लागि स्थगित भयो ।


ADVERTISEMENT


बिधेयक पास गरेरै छोड्ने सत्तारुढ दलको योजना कसरी असफल बन्यो ? सत्तारुढ दलका नेताहरुले यस्को दोष शिक्षामन्त्री समेत रहेका नेकपाका नेता गिरिराजमणी पोखरेल माथि नै खन्याएका छन् ।


ADVERTISEMENT

# # #


मंगलबारको बैठकमा कांग्रेसले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गर्न थाले पनि सभामुख कृष्णबहादुर महराले राष्ट्रय चिकित्सा शिक्षा बिधेयक माथि छलफल गर्दै पारित गर्ने प्रस्ताव सदनमा अगाडी बढाउन मन्त्री पोखरेललाई बोलाए पनि कांग्रेसको घेराबन्दीमा मन्त्री पोखरेल पर्न पुगे ।

केही समय ठेलाठेल भए पछि सभामुख कृष्णबहादुर महराले १५ मिनेटका लागि भन्दै बैठक स्थगन गरे । केही समय पछि सुरु भएको दोश्रो पटकको बैठकमा नेकपाका नेताहरुले मन्त्री पोखरेललाई कांग्रेसको रोकावटबाट उम्किँदै रोष्ट्रममा पुग्न र बिधेयक अघि बढाउन सुझाएका थिए । तर पहिलो पटकमा जस्तै दोश्रो पटकको कांग्रेस अबरोधमा समेत मन्त्री पोखरेल नाराबाजीकै बीचमा मिल्न पुगेको भन्दै नेकपाका नेताहरु असन्तुष्ट बनेका छन् ।

‘गोबिन्द केसीलाई सहयोग गर्न शिक्षामन्त्री नै संसदमा ढिलो ढिलो हिँड्दै कांग्रेस नाराबाजीको बीचमा मिसिन पुग्नुभयो’ नेकपाका एक नेताले हिमालय पोष्टसंग भने ‘मन्त्री भएर पनि उहाँले नेकपाको रणनीतिलाई असफल बनाउन कांग्रेसलाई सघाउनु भयो, यो बिषयमा पार्टी भित्र गम्भिर छलफल हुन्छ ।’

सभामुखको निर्देशनमा मर्यादा पालक र प्रमुख सचेतक देव गुरुङ लगायतका सत्तारुढ नेकपाका सांसदहरुले मन्त्री पोखरेललाई रोष्ट्रमसम्म पूर्याउने र बिधेयकलाई जसरी पनि मंगलबार नै पास गर्ने रणनीति एकाएक फेल खाए पछि सत्तारुढ दलका सांसदहरु रुष्ट बनेका हुन् । उनीहरुले मन्त्री पोखरेलको ढिलासुस्ती र बिधेयक अघि बढ्न नदिने भित्री मनशायकै कारण सत्तारुढ दलको रणनीति मंगलबार पनि फेल खाएको सांसदहरु बताउँछन् ।

‘शिक्षा मन्त्रीले चाहनुभएको भए, बिधेयक अघि बढ्थ्यो’ सत्तारुढ दलका सांसदहरुको आरोप छ ‘भित्री रुपमा मन्त्रीज्यू नै बिधेयक अघि नबढोस भन्ने पक्षमा हुनुहुन्छ, मन्त्री भएर पनि सरकारकै योजनालाई उहाँले असफल बनाईरहनु भएको छ ।’

सत्तारुढ दलका तर्फबाट नेता नारायणकाजी श्रेष्ठ र मन्त्री पोखरेल कुनै पनि बहानामा बिधेयकलाई फेल बनाउने ‘आत्मघाती योजना’मा रहेको आरोप समेत सत्तारुढ दलका अन्य नेताहरुले लगाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आँफू स्वीजरल्याण्डबाट फर्किनु अघि नै बिधेयकलाई पास गर्न नेताहरुलाई निर्देशन समेत दिएको श्रोतले जानकारी दिएको छ । तर संसद बैठक नै ११ गते शुक्रबार सम्मका लागि स्थगित भएपछि अनसन र डा. केसीको स्वास्थ्यलाई देखाउँदै बिधेयकलाई तुहाउने एकथरीको खेलका बीच मन्त्री पोखरेलकै असहयोगले प्रतिपक्षसंगको लडाईंमा यस पटक सत्तापक्ष घुँडा टेक्ने खतरा बढेको सत्तारुढ दलका नेताहरुले चिन्ता व्यक्त गरेका छन् ।