काठमाडौँ– थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास क्रिकेटको तेस्रो खेलमा युएईबाट नेपालले जितका लागि १०६ रनको चुनौति पाएको छ ।


ADVERTISEMENT


सोमबार टस जितेर ब्याटिङ थालेको युएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा १०६ रन बनायो । उसका लागि ओपनर चाया मुघालले सर्वाधिक ३१ रन बनाइन् । ४३ बलको सामना गरेकी उनले एक चौका प्रहार गरिन् । यस्तै सीता राना मगरको बलमा इन्दु बर्माबाट क्याचआउट हुनुअघि आक्रामक ब्याटिङ गरेकी इशा ओजाले २५ बलमा २८ रन बनाइन् । उनले २ चौका र १ छक्का प्रहार गरिन् । यस्तैचमानी सेनेचिरान्थेले एक चौकाको मदतमा नटआउट २३ रन जोडिन् । त्यसका लागि उनले ३० बलको सामना गरिन् ।


ADVERTISEMENT

# # #


यता नेपालका लागि करुणा भण्डारी, सीता राना मगर र सोनु खड्काले समान १/१ विकेट लिए । अघिल्ला दुई खेलमा लगातार जित निकालेको नेपालले तेस्रो खेलमा बलियो टोली युएईविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । जारी प्रतियोगितामा दुवै टोली अपराजित हुन् ।

अघिल्ला दुई खेल जितेको नेपालले समूह चरणमा चार अङ्क जोडेको छ । आजको खेलमा नेपाल युएईविरुद्ध जित निकाल्दै एक खेल अगावै सेमिफाइनलमा स्थान पक्का गर्ने तयारीका साथ मैदान उत्रिएको प्रशिक्षक विनोद दासले बताएका छन् ।

युएई पनि नेपाललाई हराएर सेमिफाइनलमा पुग्न चाहन्छ । अघिल्ला दुई खेल जितेको युएईको पनि चार अङ्क नै रहेको छ । पहिलो खेलमा नेपालले शनिबार चीनलाई १० विकेटले हराएको थियो । यस्तै आइतबार भएको दोस्रो खेलमा मलेसियालाई छ विकेटले पराजित गरेको थियो ।

नेपाली टोलीमा १४ सदस्यीय खेलाडीसहित मुख्य प्रशिक्षक विनोद दास, म्यानेजर अमृता पौडेल र फिजियो सकुना डानी सहभागी छन् । रुविना क्षेत्री (वेलवासे)को कप्तानीमा रहेको नेपाली टोलीमा सीता राना मगर (उपकप्तान), करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डोली भट्ट, ममताकुमारी चौधरी र विन्दु रावल छन् ।

उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभगिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा हङकङ, थाइल्याण्ड, इण्डोनेसिया, भूटान र म्यानमार छन् ।

नेपालले समूह चरणको अन्तिम खेल माघ २ गते थाइल्याण्डसँग खेल्नेछ । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।