काठमाडौं । चोलेन्द्रशम्शेर राणा २९ औँ प्रधानन्यायाधीशका रुपमा कार्यभार सम्हाल्दै छन् । राणाले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिँदै छन् ।


ADVERTISEMENT


राणाले झण्डै चारवर्ष प्रधानन्यायाधीशको रुपमा काम गर्न पाउने छन् । यसअघि २०४८ सालदेखि २०५२ सालसम्म विश्वनाथ उपाध्यायले पाँचवर्षका लागि सर्वाेच्च अदालतको प्रधानन्याधीशको जिम्मेबारी सम्हालेका थिए ।


ADVERTISEMENT

# # #


वीर शमशेरका पनाति पुस्ताका सदस्य चोलेन्द्रशमशेर राणा प्रधानन्यायाधीशको पदमा पुगेसँगै उनका अगाडि अदालतलाई सुधारेर लैजाने पर्याप्त अवसर र चुनौती छन् । राणासमक्ष पछिल्ला केही वर्षदेखि धुमिल बन्दै गएको अदालतको छवी सुधार गर्न पर्याप्त अवसर रहेको काननुविद भीमार्जुन आचार्य बताउँछन् ।

‘प्रधानन्यायाधीश पदमा रहिरहन चार वर्ष लामो समय पाउने भएकोले छोटो अवधी पाएका प्रधानन्यायाधीशको भन्दा फरक रुपमा काम गरेर देखाउने ठूलो अवसर राणाले पाएका छन्, तर विगतमा राणाको आफ्नै छवी पनि विवादमुक्त छैन, त्यसैले पर्याप्त अवसर र केही चुनौतीका बीच प्रधानन्यायाधीश बनेका राणाले आगामी दिनमा कुन बाटो अपनाउनेछन् त्यसैमा न्यायालयको सुुधार भर पर्छ’, आचार्यले भने ।

अदालतमा न्याय प्रभावित पार्ने काम गरिरहेका विचौलियालाई नियन्त्रण गरी स्वच्छ न्याय पाइन्छ भन्ने जनआस्था वृद्धि गर्नु राणाका लागि प्रमुख चुनौती रहेको आचार्यको बुझाई छ ।

पछिल्ला केही वर्षयता अदालतमा हुने मुद्दामा विचौलियाहरुको प्रवेश, आर्थिक चलखेल, वषौँसम्म अदालतमा मुद्दा अल्झने र जनताले न्याय सहज रुपमा नपाउने समस्या विद्यमान छन् । अदालतभित्र विकृति र विसंगति बढ्दै गए पनि त्यसलाई कम गर्ने भन्दा बढाउनेतिर प्रधानन्यायाधीशहरु स्वयम् नै लाग्ने गरेको आरोप पनि जबर्जस्त रुपमा लाग्ने गरेको छ । राणाले आफ्नो कार्यकालमा यस्ता कुराहरुमा सुधार गर्न सक्नु नै उनका लागि अर्काे ठूलो चुनौती रहेको आचार्य बताउँछन् ।

न्यायाधीश बन्न समेत योग्य नरहेको जस्ता गम्भीर उजुरी परे पनि संसदीय सुनुवाई विशेष समितिले राणालाई प्रधानन्यायाधीशका लागि मंगलबार अनुमोदन गरेको हो। अदालतलाई सुधार गरेर स्वच्छ न्याय सम्पादन गर्न सक्ने खुबी राणामा देखिएकोले उनको नाम अनुमोदन गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले बताए ।

यता करिब चार महिना सर्वोच्च अदालतको नेतृत्व गरेका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले जाँदाजाँदै आगामी दिनमा भविष्यमा न्यायपालिका स्वतन्त्र होस् भनेर विज्ञप्ति जारी गरेका छन् । जाँदाजाँदै ‘न्यायपालिकाको स्वतन्त्रता, व्यावसायिकता र संस्थागत विकास आगामी दिनमा थप समृद्धि र उचाईमा स्थापित हुन सकोस्’ भन्दै मिश्रले जारी गरेको विज्ञप्तिबाट पनि अदालत राजनीतिक हस्तक्षेपबाट टाढा नरहेको प्रष्ट हुन्छ । तर पाँच वर्षका लागि स्थिर सरकार पाएको मुलुकले अब चारवर्षका लागि स्थिर प्रधानन्यायाधीश पनि पाउनु राम्रो अवसर रहेको विश्लेषकहरु बताउँछन् ।

चोलेन्द्र शमशेर राणाका बारेमा
पिता युवराजशम्शेर र माता उमा राज्यलक्ष्मीका सन्तानका रुपमा विसं २०१४ मङ्सिर २८ गते काठमाडौँको कालिकास्थानमा राणाको जन्म भएको थियो ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल ल क्याम्पसबाट कानूनमा स्नातक गरेका राणाले विसं २०३६ मङ्सिर ६ गतेदेखि अधिवक्ताको प्रमाणपत्र प्राप्त गरी विसं २०५२ चैतसम्म कानुन व्यवसायीका रुपमा काम गरेका थिए ।

उनले तत्कालीन काठमाडाँै नगरपञ्चायत र काठमाडौँ नगरपालिकाको कानुनी सल्लाहकारका रुपमा विसं २०३९ देखि विसं २०४९ सम्म काम गरे ।
न्यायपरिषद्को सिफारिशमा विसं २०५३ वैशाखदेखि पुनरावेदन अदालतको अतिरिक्त न्यायाशीका रुपमा काम सुरु गरेका राणाले विसं २०५२ चैतमा अतिरिक्त न्यायाधीशको नियुक्ति लिएर मोरङ, मकवानपुर, सुर्खेतलगायतका जिल्लामा काम गरेका थिए ।

विसं २०६१ चैत ३० स्थायी न्यायाधीशका रुपमा पुनरावेदन अदालतमा र विसं २०६५ असोज ७ गतेदखि विशेष अदालतमा काम गरे । त्यसक्रममा पुनरावेदन अदालत दीपायल, राजविराज, बुटवलमा कायममुकायम मुख्य न्यायाधीशको काम गर्ने अवसर पाएका थिए । विसं २०७१ जेठ १३ गते सर्वोच्च अदालतमा स्थायी न्यायाधीशका रुपमा नियुक्त भएका राणाले न्याय क्षेत्रका गोष्ठीमा भाग लिने क्रममा दक्षिण कोरिया, श्रीलङ्का, जापानको भ्रमण गरेका छन् ।

उनको कार्यकालमा तत्कालीन पुनरावेदन र विशेष अदालतमा रहँदा चार हजार ५००, सर्वोच्च अदालतमा रहँदा ६ हजार ४३८ थान मुद्दा गरी करिब ११ हजार मुद्दा फछ्र्यौट भएको छ । उनको कार्यकालमा सौतेनी आमा अंशमा अधिकार र गुठी सञ्चालनमा छोरीको हक, वैदेशिक रोजगारीमा हुने ठगीमा पीडकलाई कारवाही र पीडितलाई क्षतिपूर्ति दिने, पर्वतारोहणका समयको प्रामाणिकता, सरकारी जग्गाको संरक्षणको फैसला भएका छन् ।