नेपाल इञ्जिनियर एशोसिएशनको आसन्न निर्वाचनमा लोकतान्त्रिक समूहबाट केन्द्रीय अध्यक्षका उम्मेदवार प्रा. ई. हिरेन्द्रमान प्रधानसंग गरिएको निर्वाचनका विषयमा कुराकानी


ADVERTISEMENT


नेपाल इञ्जिनियर एशोसिएशनको चुनाव नजिकिँदै गर्दा दौडधूप कस्तो भइराखेको छ ?


ADVERTISEMENT

# # #


हामी लोकतान्त्रिक भएकाले स्वतन्त्ररुपमा काम गर्न रुचाउँछौँ । पेशागत स्वतन्त्रता भएमा मात्रै इञ्जिनियरले काम गर्न पाउँछ । त्यसकारण हाम्रो चुनावको काम एकदम राम्रोसंग अगाडि बढिरहेको छ ।

तपाई लोकतान्त्रिक समूहबाट केन्द्रीय सभापतिको लागि उम्मेदवार हुनुहुन्छ । लोकतान्त्रिक समूहलाई भोट किन दिने ?

२० औँ देखि ३१ औँ कार्यकालसम्म आउँदाखेरि धेरै कुराहरु लोकतान्त्रिक समूहले नै गरेको छ । हामी इञ्जिनियरको हकहितको कुरा मात्रै गर्दैनौँ, आपत्तविपत्तमा सहयोग पनि गर्छौँ । देश अहिले संघियतामा गइसकेकोले पनि सबैलाई मिलाएर अगाडि लैजानका लागि पनि लोकतान्त्रिक समूहलाई भोट दिनुपर्छ । पहिलो प्रशासनिक क्षेत्रको मात्रै सचिव हुन्थ्यो । तर, प्राविधिकलाई पनि सचिव बनाउनमा हामी लोकतान्त्रिक समूह सफल भएका छौँ । नत्र इञ्जियनरहरु पहिलो तहमा पुगेर नै रिटायर्ड हुने अवस्था हुन्थ्यो । अहिले प्राविधिकले पनि मन्त्रालयको सचिव हुन पाउँछन् । त्यसले गर्दा पनि लोकतान्त्रिक इञ्जिनियरको हकहितमा काम गर्छ भन्ने पुष्टी हुन्छ ।

यसपालि कस्ता उम्मेदवार छान्नु भएको छ ?

हामीसंग युवा, अनुभवी, र समावेशी उम्मेदवार छन् । त्यसकारण अन्यको भन्दा राम्रा उम्मेदवार हामीले छानेका छौँ ।

तपाई नेतृत्वमा आइसकेपछि नेपालको इञ्जिनियरिङ क्षेत्रमा के गर्छौँ जस्तो लाग्छ ?

हामी सबैलाई थाहा छ, इञ्जिनियरलाई हेर्ने समाजको दृष्टिकोण फरक छ । त्यसलाई हामीले परिवर्तन गर्नुपर्छ भन्ने मेरो मान्यता हो । हामीले ऐन ल्याएर इञ्जियनरलाई ऐनमा बाँध्ने हो । जस्तो मेडिकल क्षेत्रमा डाक्टरहरुको ऐन छ । त्यसका कारण उनीहरु आफ्नो ऐन अनुसार अगाडि बढिरहका हुन्छन् । हाम्रो पनि ऐन भएमा काम गर्न सहज हुन्छ । गलत काम गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउनका लागि पनि ऐन ल्याउन जरुरी छ । एकदुई जनाले गरेको गल्तीले सबै इञ्जिनियर खराब छन् भन्ने छाप बसेको छ । हामी त्यो ऐन मार्फत हटाउन चाहन्छौँ । अर्को हामी बीच एकता हुनुपर्यो । त्यो भएमा मात्रै हामी आफ्ना मुद्दाहरुलाई उठाउन सक्छौँ ।

लोकतान्त्रिक समूह जितेमा सबैलाई एकताको शूत्रमा बाँधेर अगाडी बढ्छौँ । लोकतान्त्रिक समूहले अरुलाई पनि समेटेर लान्छ भन्ने कुरा हामीले विधान संशोधन गरेर देखाइसकेका छौँ । अनि अर्को कुरा इञ्जिनियरिङमा प्राइभेट कलेजहरु हुनुपर्छ । त्यसको भिजन पनि मैँले नै ल्याएको हुँ । त्यो भयो भने हजारौँ विद्यार्थीहरुले पढाइका लागि विदेशिनुपर्ने अवस्था आउँदैन भनेका हौँ । अहिले हामीसंग ५० वटा निजी कलेजहरु छन् । ती भएभने अब निजी इञ्जिनियररिङ विश्वविद्यालय किन नखोल्ने भन्ने हाम्रो भनाइ हो । त्यसका लागि पहल गर्छौँ ।

अर्को शिक्षामा गणस्तर भएन भन्ने कुरा आइराखेको छ । त्यसका लागि सबैलाई राम्रोसंग मोनिटरिङ गर्नका लागि पनि अर्को विश्वविद्यालय चाहिन्छ । अर्को आर्किटेक्टरमा ‘इन्टर्नसिप’ भन्ने चार महिना गर्नैपर्ने प्रावधान छ । त्यो समयमा उनीहरु विभिन्न अफिसमा गएर काम गर्छन् । त्यसपछि कामको आधारमा उनीहरुले जागिर पनि पाउँछन् । तर अन्य विधामा यो इन्टर्नसिप छैन । त्यसकारण अनुभव नभएर काम गर्न नपाउने र काम नगरेर अनुभव नहेने हुँदा हामीले अरु विधामा पनि इन्टर्नसिप राख्ने प्रावधान गर्न काम गर्छौँ । नेपालमा केही गर्न चाहने युवाहरुका लागि सहजरुपमा ऋण उपलब्ध गराउन भूमिका खेल्छौँ ।  यस्तै अन्य कुराहरु गर्छौँ ।

तपाईहरु लोकतान्त्रिकबाट हुनुहुन्छ । उतातिर अर्को प्यानल छ । उसको आस्था राख्ने दल अहिले सरकारमा छ । त्यसले तपाईलाई कत्तिको गाह्रो हुन्छ ?

हामी आफू बलियो भएपछि अरुसंग प्रतिस्पर्धामा डराउनुपर्ने जरुरी छैन ।

अन्त्यमा, तपाईंका मतदातालाई के भन्नुहुन्छ ?

लोकतन्त्र बिना पेशागत स्वतन्त्रता हुँदैन भन्ने हाम्रो मान्यता हो । पेशागत स्वतन्त्रता नभएपनि इञ्जिनियरले आफ्नो सिर्जनात्मक क्षमता देखाएर काम गर्न सक्दैन । हामी लोकतान्त्रिक समूहले २० औँदेखि ३१ औँ कार्यकालमा गरेका कामहरुलाई हेर्नुस् । हामी फेरि पनि आयौँ भने त्यसलाई निरन्तरता दिनेछौँ । अघि भनेजस्तै हामी नयाँ ऐन ल्याउने, छुट्टै विश्वविद्यालय खोल्ने र इन्टर्नसिपको कुराहरु गर्ने भएकाले धेरैलाई फाइदा पुग्छ । त्यस कारण हामीलाई विश्वास छ सबै साथीहरुले लोकतान्त्रिक समूहलाई भोट दिनुहुन्छ ।