काठमाडौँ– नेपालको संविधान र कानूनले वैवाहिक समानतालाई स्वीकार गरेको भन्दै यस क्षेत्रका सरोकारवालाहरूले समलिङ्गी विवाहसम्बन्धी कानून बनाउन माग गरेका छन् ।


ADVERTISEMENT


युवालय नामक संस्थाले लैङ्गिक पहिचान र यौनिक अभिमुखीकरणसम्बन्धी विषयमा सञ्चारमाध्यमसँग आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरूले समलिङ्गी व्यक्तिले कानूनको अभावमा विवाहजस्तो मौलिक अधिकारबाट समेत वञ्चित हुनु परेको गुनासो गरे ।


ADVERTISEMENT

# # #


कार्यक्रममा नीलहिरा समाजका कार्यक्रम अधिकृत अनुज पिटरले संविधानमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अधिकारको विशेष व्यवस्था गरिने उल्लेख भए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बताए । आफू स्वयं पुरुष समलिङ्गी भए पनि कानूनको अभावमा मन परेको पुरुषसँग कानूनीरूपमा विवाह गर्न नपाएको उनको गुनासो थियो ।

‘म आफूले मनपराएको  मान्छेसंग विवाह गर्न चाहन्छु । तर हाम्रो देशमा यसले कानुनी मान्यता पाएको छैन’ उनले भने ।

युवालयका अध्यक्ष सबिन सिंहले लैङ्गिक पहिचान र यौनिक अभिमुखीकरणसम्बन्धी प्रस्तुति दिँदै समलिङ्गी विवाहसम्बन्धी कानून बनाउन सञ्चारमाध्यम, नागरिक समाजलगायतले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिए ।

संस्थाकी युवा अभियानकर्मी कविता बस्नतले यौन शिक्षाका सम्बन्धमा शैक्षिक पाठ्यक्रमसँगै घरपरिवारमा समेत सचेतना फैलाउन आवश्यक रहेको धारणा व्यक्त गरिन् ।

कार्यक्रममा सहभागीहरूले वैवाहिक समानता, बृहत्तर यौनिकता शिक्षा र सुरक्षित गर्भपतनका सम्बन्धमा जिज्ञासा र सुझाव राखेका थिए । विश्वमा हालसम्म ३० मुलुकले समलिङ्गी विवाहसम्बन्धी कानून पारित गरिसकेको समाजले जनाएको छ ।रासस