काठमाडौँ — भूकम्पले भत्काएको धरहराको नवनिर्माण सुरु भएको छ । धरहरा निर्माणको ठेक्का पाएको निर्माण कम्पनी जिआइइटीसी-रमन जेभीले निर्माण कार्यको थालनी गरेको हो ।


ADVERTISEMENT


गत भदौ १७ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले खोलेको आर्थिक प्रस्तावमा जेभी कम्पनीले सबै भन्दा कम रकम कवोलेको थियो । कम्पनीले ३ अर्ब ४५ करोड रुपैयाँको लागतमा धरहराको निर्माण गर्ने भन्दै ठेक्का पाएको छ ।


ADVERTISEMENT

# # #


अहिले धरहरा निर्माणको क्रममा धरहरा क्षेत्रलाई घेराबन्दी गरिएको छ । धरहरा निर्माणका लागि आवश्यक सामग्री र त्यहाँबाट निस्कने फोहोरलाई टुँडिखेलको दक्षिण भागमा व्यवस्थापन गरिनेछ । केही निर्माण उपकरण पनि त्यहाँ राखिने र त्यसका लागि सेनाले टुँडिखेल प्रयोगको अनुमति दिइसकेको प्राधिकरणले जनाएको छ । त्यहाँ अस्थायी संरचना बनाएर श्रमिकहरु पनि बस्नेछन् ।

प्राधिकरणले स्थानीय समुदायले जात्राको समयमा धरहराको परिसर रत्यहाँको बाटो प्रयोग गर्न पाउनुपर्ने माग गरेका थिए । प्राधिकरणले त्यसका लागि आवश्यक व्यवस्था गर्ने प्रतिवद्धता जनाएको छ ।

सम्बन्धित समाचार : यस्तो बन्नेछ धरहरा 

धरहरा निर्माणका लागि गोश्वरा हुलाकको भवन भत्काइने छ । हुलाक भवन भत्काउनका लागि आवश्यक प्रक्रिया पूरा भइसकेको बताउँदै प्राधिकरणका सहसचिव राजुमान मानन्धरले हुलाक कार्यालयलाई तत्कालका लागि बबरमहलस्थित अस्थायी घरमा सारिने जानकारी दिए ।

नयाँ धरहरा निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा ‘डिजाइन’ को काम सम्पन्न भइसकेको जानकारी दिंदै महाशाखा प्रमुख मानन्धरले नवनिर्मित धरहरा जमीनमूनि दुई र जमिनमाथि २२ तल्ला गरी जम्मा २४ तल्लाको हुने बताए। धरहराको डिजाइन केज कन्सुलेट प्रालि र एमआरबी एण्ड एशोसिएट्सले तयार पारेको हो ।

तस्बिरहरु : रासस