काठमाडौँ– विसं २०७२ सालको विनाकारी भूकम्पले क्षतिग्रस्त ऐतिहासिक सम्पदा धरहराको नवनिर्माण सुरु भएको छ । सरकारले पुरानै डिजाइनमा आधुनिक सुविधा सम्पन्न धरहरा बनाउन सुरु गरेको हो ।


ADVERTISEMENT


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जीआईईटिसी(रमन जेभीलाई धरहरा पुननिर्माणको जिम्मा दिएको थियो । कम्पनीले ३ अर्ब ४५ कारेडमा धरहरा निर्माणको जिम्मा पाएको थियो । प्राधिकरणका सम्पदा विभाग प्रमुख राजुमान मानन्धरका अनुसार धरहरा पुनर्निर्माणको काम सुरु भइसकेको र त्यसको जग हाल्ने कामका लागि खन्ने काम सुरु भएको छ ।


ADVERTISEMENT

# # #


धरहरा निर्माणका लागि आवश्यक सामग्री र त्यहाँबाट निस्कने फोहोरलाई टुँडिखेलको दक्षिण भागमा व्यवस्थापन गरिनेछ । केही निर्माण उपकरण पनि त्यहाँ राखिने र त्यसका लागि सेनाले टुँडिखेल प्रयोगको अनुमति दिइसकेको प्राधिकरणले जनाएको छ । त्यहाँ अस्थायी संरचना बनाएर श्रमिकहरु पनि बस्नेछन् ।

प्राधिकरणले स्थानीय समुदायले जात्राको समयमा धरहराको परिसर रत्यहाँको बाटो प्रयोग गर्न पाउनुपर्ने माग गरेका थिए । प्राधिकरणले त्यसका लागि आवश्यक व्यवस्था गर्ने प्रतिवद्धता जनाएको छ ।

सुन्धारापुनः सञ्चालनमा आउने

सहसचिव मानन्धरका अनुसार धरहरा निर्माणको क्रममा केही वर्षदेखि बन्द रहेको सुन्धारालाई सञ्चालनमा ल्याइने छ । सुन्धारामा पानीको बहावलाई सञ्चालनमा ल्याउनुका साथै अहिले बन्द रहेको सुन्धाराको पानीको निकासलाई समेत सुचारु गरिनेछ ।

सुन्धाराको पानीलाई ताहागली–भोटेबहाल हुँदै टुँडिखेलमा खसाल्ने योजना रहेको छ । अहिलेको सुन्धारामा केही पनि परिवर्तन नगरिने तथा पुरातात्विक महत्वलाई ध्यान दिंदै त्यसको मर्मत सम्भार मात्र गरिने उनले बताए ।

धरहाराको ठूटो संरक्षण

इतिहासलाई जोगाउने उद्देश्यसहित धरहराको नवनिर्माणसँगै भूकम्पबाट क्षतिग्रस्त अहिलेको धरहराको ठूटोलाई संरक्षण गरिने जानकारी सहसचिव मानन्धरले दिए । धरहराको अहिलेको टुक्रालाई शिशाले छोपेर जस्ताको त्यस्तै राखिने उनले बताए । नयाँ धरहारा हेर्नले पुरानो धरहराको समेत अवलोकन गर्ने छन् ।

हुलाक कार्यालय पनि सारिने

धरहरा निर्माणका लागि गोश्वरा हुलाकको भवन भत्काइने छ । हुलाक भवन भत्काउनका लागि आवश्यक प्रक्रिया पूरा भइसकेको बताउँदै प्राधिकरणका सहसचिव मानन्धरले हुलाक कार्यालयलाई तत्कालका लागि बबरमहलस्थित अस्थायी घरमा सारिने जानकारी दिए ।

अबको दुई महिनाभित्र बबरमहलमा हुलाक कार्यालयका लागि अस्थायी भवन निर्माण हुनेछ । त्यसपछि डिल्लीबजारमा निर्माणाधिन आफ्नै भवनमा स्थान्तरण गरिनेछ । सरकारले हुलाक कार्यालय निर्माणका लागि डिल्लीबजार चारखालमा १५ रोपनी जग्गा उपलब्ध गराइसकेको छ ।

धरहरा निर्माण कोषमा नौ करोड

प्राधिकरणका अनुसार अहिले धरहरा निर्माण कोषमा नौ करोड रुपियाँ जम्मा भएको छ । प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालमा ‘म बनाउँछु मेरो धरहरा’ अभियानको घोषणासँगै खडा गरिएको कोषमा आफ्नो एक महिनाको तलब राखेर खाता खोलेका थिए ।

कस्तो बन्नेछ धरहरा ?

नयाँ धरहरा निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा ‘डिजाइन’ को काम सम्पन्न भइसकेको जानकारी दिंदै महाशाखा प्रमुख मानन्धरले नवनिर्मित धरहरा जमीनमूनि दुई र जमिनमाथि २२ तल्ला गरी जम्मा २४ तल्लाको हुने बताए। धरहराको डिजाइन केज कन्सुलेट प्रालि र एमआरबी एण्ड एशोसिएट्सले तयार पारेको हो ।

धरहरामा चढ्ने र ओर्लिने गरी दुईतर्फी लिफ्ट हुने प्राधिकरणले जनाएको छ । नयाँ बन्ने धरहरा अपाङ्गमैत्री समेत हुनेछ । धरहराको १८औंं तलामा १७ जना क्षमताको मिनी थिएटर बनाइने छ जहाँ धरहराको विगतदेखि वर्तमानसम्मको भिडियो डिस्पले गरिने छ । कुल २४५ फिट अग्लो धरहराको टुप्पोमा शिशाले घेरेको ‘भ्यू डेक’ निर्माण गरिने छ जहाँबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकन गर्न सकिने छ ।

तत्कालीन मुख्तियार(हाल प्रधानमन्त्रीसरह) भीमसेन थापाले आफ्नी पत्नी ललितत्रिपुरासुन्दरी(मृत्यु विसं १८८८)का सम्झनामा विसं १८८८ पछि बनाएको भीमसेनस्तम्भ तीन वर्षअघिको भूकम्पसहित चार पटक ढलिसकेको छ । यसअघिको धरहरा नौ तलाको थियो ।

विसं १८८८अघि नै बागदरबार(हाल हरिभवन भनिने)मा निजी रुपमा थापाले धरहरा बनाएको इतिहासकार प्रा दिनेशराज पन्तले बताए । उनका अनुसार विसं १८९० को भूकम्पमा दुवै धरहरा भत्केकामा बागदरबारभित्रको धरहरा नबनेको तर भीमसेनस्तम्भ भने पुनःनिर्माण गरिएको थियो । प्रधानमन्त्री श्री ३ जुद्धशम्शेरले विसं १९९० मा एघारतलेबाट नौतलेमा त्यसलाई झारेको बताइन्छ ।