काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले अहिलेको सरकार संसद्को कार्यकालसम्मै रहने बताएका छन् ।


ADVERTISEMENT


आज (बुधबार) काठमाडौंमा आयोजित संवाद कार्यक्रममा उनले भने, “संसद्को बाँकी समयसम्म यही समीकरण जान्छ । यसमा विभिन्न खेल हुन पनि सक्छन् तर अहिलेको समीकरण यो संसद्को बाँकी समयसम्म जान्छ ।”


ADVERTISEMENT

# # #


उनले तेस्रो लगानी सम्मेलन सफल भएको पनि बताए । देश विकासको लागि मुख्य आन्तरिक पुँजी भए पनि बाह्य पुँजी भित्र्याएर अगाडि बढ्नुपर्ने उनको धारणा छ ।

“देश विकासका लागि आन्तरिक पुँजी मुख्य कुरा हो तर हाम्रो आवश्यकता र प्राथमिकताका आधारमा बाह्य पुँजी भित्र्याएर रोजगारी सिर्जनासँगै देशलाई समृद्ध बनाउन सकिन्छ । त्यहीअनुसार सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गरेको हो,” उनले भने ।

चीनको १० दिने भ्रमण सकेर हालै स्वदेश फिर्ता भएका महासचिव गुरुङले चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निम्तामा गरेको भ्रमणमा नेपालको शान्ति, समृद्धि र राजनीतिक स्थायित्वका लागि चीन सधैँ तत्पर रहेको पाइएको बताए । आफ्नो नेतृत्वमा ३० जनाले १० दिनसम्म चिनियाँ कम्युनिष्ट पार्टी र सरकारका उच्च अधिकारीसँग भेटवार्ता गरेको बताउँदै उनले चीनले नेपालमा स्थिर सरकार हेर्न चाहेको पनि उल्लेख गरे । भ्रमणले चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रबीचको सम्बन्धलाई जनस्तरमा पुर्याउनसमेत सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।