काठमाडौँ– यही शुक्रबारबाट पोखरामा सुरु हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि बुटवल ब्लास्टरले आफ्ना दुई विदेशी खेलाडी सार्वजनिक गरेको छ


ADVERTISEMENT


पोखरा रङ्गशालामा हुने प्रतियोगिताका लागि बुटवलले युएइबाट दुई खेलाडी क्लबमा अनुबन्ध गरेको जनाएको छ । राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी मार्की प्लेयर रहेको बुटवलले दुई विदेशी कोटामा रोहन मुस्तफा र चिराक सुरीलाई क्लबमा अनुबन्धन गरेको हो । प्रतियोगिताका लागि क्लबले दुई विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । बुधबार चितवनले पनि दुई इङ्ल्याण्डका खेलाडी क्लबमा अनुबन्ध गरेको थियो ।


ADVERTISEMENT

# # #


क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले आयोजना गरेको प्रतियोगिता भोलिदेखि शुरु भई यही कात्तिक २० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा छ टोलीको सहभागिता रहेको छ । बुटवल ब्लास्टर्सको टोलीको स्वामित्वमा रामबहादुर विष्टसहितको व्यावसायीको युवा टोली छ भने मार्की प्लेयरमा सोमपाल कामी छन् ।

पिपिएलमा बुटवल ब्लास्टर्सले पहिलो खेल कात्तिक १० गते चितवन राईनोजसँग खेल्नेछ । दोस्रो खेल कात्तिक ११ गते पोखरा पल्टनसँग, कात्तिक १४ गते विराटनगर टाइटन्ससँग, १५ गते धनगढी र १६ गते हुलास काठमाडौँसँग खेल्नेछ ।विजेताले रु २७ लाख पुरस्कार पाउने सो प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले एक–एक थान मोटरसाइकल पाउनेछन् । प्रतियोगिताको बैंकिङ पार्टनर नबिल बैँक रहेको छ भने हस्पिटालिटी पार्टनरमा ओयो र मेडिकल पार्टनरमा ग्राण्डी अस्पताल रहेका छन् ।