काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले रामवीर मानन्धरको राजीनामा र वामदेव गौतम काठमाडौं–७ बाट चुनाव लड्ने लफडा सकिएको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार कागेश्वरी मनहरा नगरपालिकामा आयोजित दसैं शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै दाहालले वामदेव आफैंले चुनाव नलड्ने बताएकाले यो लफडा अब सकिएको बताए ।


ADVERTISEMENT

# # #


‘रामवीरको राजीनामा र वामदेव चुनाव लड्ने कुरा सकियो अब । यसमा केही टेन्सन लिनुपर्दैन,’ दाहालले भने, ‘हिजो वामदेवजीले चुनाव लड्दिनँ भनिसक्नुभयो । यो लफडा सकियो । हामी अब देश विकासमा लाग्छौं ।’

यसअघि बर्दिया–१ बाट पराजित नेकपा नेता वामदेव गौतमलाई संसदमा ल्याउन भन्दै काठमाडौं–७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले पदबाट राजीनामा घोषणा गरेका थिए । पार्टीभित्र र बाहिरबाट उप–चुनावको चर्को आलोचना भएपछि वामदेव चुनाव लड्ने निर्णयबाट पछि हटेका थिए ।

दाहालले सरकार अब सानातिना भनिएका काममा केन्द्रित गर्नेमा लाग्ने बताए ।

‘जनताले त सडकमा भएका खाल्डा किन पुरिएन । धुलो किन उड्यो भन्ने कुरा हेर्छ,’ दाहालले भने, ‘दसैंपछि हामी त्यस्ता काममा लाग्छौं । सरकारको वर्ष दिन नपुग्दै जनतालाई महसुस हुने गरी काम गर्छौं ।’