काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ६ दिने भ्रमणका लागि आज भारत उडेका छन्। भारत सरकारको निमन्त्रणामा प्रचण्ड आज त्यसतर्फ प्रस्थान गरेका हुन् ।


ADVERTISEMENT


उनी दिउँसो साढे ३ बजे एयर इन्डियाको विमानमार्फत् गएका हुन् । अध्यक्ष प्रचण्डको भ्रमण टोलीमा पत्नी सीता दाहालसँगै छोरी गंगा, स्वकीय सचिव जोखबहादुर महरा र प्रेस सहयोगी सूर्यकिरण शर्मा रहेका छन् ।


ADVERTISEMENT

# # #


भारत उड्नु अघि पत्रकार सम्मेलन गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पटक पटक भएको नेपाल भ्रमणका बेला भएका सम्झौताहरुको थप कार्यान्यनको थप सुदृढ वातावरण बनाउने उद्देश्यले आफू भारत जान लागेको बताए । उनले अन्य कुनै राजनीति एजेण्डा नभई विकासको एजेण्डा भएको बताए ।

उनले भने, ‘अरु कुनै राजनीतिक एजेण्डा नभई विकासको एजेण्डा लिएर म जाँदैछु । यस अघि दुबैतर्फबाट भएको भ्रमणका बेला भएका तमाम समझदारीहरु र भारत सरकारले गरेका थुप्रै प्रतिवद्धताहरुको कार्यान्वयनका लागि म सकारात्मक वातावरण बनाउनेछु ।’ उनले यसका लागि विभिन्न राजनीतिक भेटघाट तथा छलफल गर्ने जनाएका छन् ।

यस्तो छ कार्य योजना

प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार, प्रचण्ड दिल्ली पुगेलगत्तै बिहीबारदेखि नै भेटघाट तथा छलफलमा व्यस्त हुनेछन् । उनी आजै दूतावासले आयोजना गरेको छलफल कार्यक्रममा सहभागी हुनेछन् ।

शुक्रबार उनले इन्डियन काउन्सिल अफ वर्ल्ड अफेयर (आईसीडब्लूए) को कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रचण्डको भ्रमण सेड्युलमा भारतीय विदेश मन्त्री सुष्मा स्वराजसँग लन्च मिटिङ तालिका पनि छ । त्यसपछि उनले बुद्धीजीवी र पत्रकारसँग पनि छलफल तथा भेटघाट गर्ने तय भएको छ ।

प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै त्यहाँका मन्त्रीहरुसँग महत्त्वपूर्ण भेटघाट गर्ने तयारी छ । प्रचण्डले मोदी र त्यहाँका मन्त्रीसँग गर्ने भेटघाटलाई चासोका साथ हेरिएको छ ।

प्रचण्ड भदौ २४ गते स्वदेश फर्कनेछन् । नेपाल फर्किएको ६ दिनपछि उनी चीन भ्रमणमा जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।