म्याग्दी– कालीगण्डकीले कक्षाकोठा बगाएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालयको पठनपाठन प्रभावित भएको छ ।


ADVERTISEMENT


बुधबार बिहान कालीगण्डकी नदीमा आएको बाढीले कटान गरेर विद्यालयको ६ कोठे भवन बगाएपछि कक्षा सञ्चालनमा समस्या भएको हो । बिहीबारदेखि शुरु हुने पहिलो त्रैमासिक परीक्षाको अवधिलाई स्थानीयवासी टेकबहादुर बोहोराले घर उपलब्ध गराएका छन् । नियमित पठनपाठन र प्रशासनिक कामका लागि भवनको अभावले समस्या बनाएको प्रअ शान्ति राम्जालीले बताएका छन् । “विद्यालयका कागजात, फर्निचर सबै भवनसँगै कालीगण्डकीले बगायो, तत्काल अस्थायी र दीर्घकालीन रुपमा स्थायी भवनको आवश्यकता परेको छ,” प्रअ राम्जालीले बताए ।


ADVERTISEMENT

# # #


कक्षा ३ सम्मको पठनपाठन हुने विद्यालयमा बालशिक्षासहित करीब २० बालबालिका पढछन् । बोहोराले उपलब्ध गराएको घरको कोठामा पाल र म्याट्रेस बिछ्याएर परीक्षा सञ्चालनको तयारी भएको छ । कोप्चेपानीदेखि केही माथिको भालेबासमा विद्यालय स्थानान्तरणका लागि जग्गाको खोजी शुरु गरिएको प्रअ राम्जालीले जानकारी दिएका छन् ।

बाढीले भवन बगाउँदा रु २५ लाख बराबरको क्षति पुगेको व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खड्काले बताएका छन् । बेनी–जोमसोम सडक विस्तारका क्रममा निस्किएको माटो र गेगर सिधै कालीगण्डकीमा फालिदा नदीमा बाढीको सतह बढेर कटान गरेको बताइएको छ । विद्यालय परिसरको आमा समूह भवन पनि बगाएको छ । खड्का समुदायको कुल मन्दिर जोखिममा परेको छ । कोप्चेपानीदेखि काभ्रे गाउँमा विद्युत् लैजान गाडिएका पोल र तारसमेत कालीगण्डकीले कटान गरेर बगाएपछि विद्युत् आपूर्ति बन्द भएको छ ।

दश घरपरिवार विस्थापित

करीब २० मिटर कटान गरेर विद्यालय भवन बगाएको कालीगण्डकीको धार बस्तीतर्फ सोझिएपछि कोप्चेपानीका बासिन्दा विस्थापित भएका छन् । कोप्चेपानीमा बसोबास गर्ने २४ मध्ये उच्च जोखिमका १० घरपरिवार भालेबासमा गएर बस्न थालेका छन् । कालीगण्डकीले बस्तीतर्फ निरन्तर कटान गर्न थालेपछि घरका सामान भालेबासमा रहेको गोठमा सारेर त्यही बस्न थालेका स्थानीयवासी गोपाल खड्काले बताएका छन् । गोपाल खड्का, बलबहादुर खड्का, दुर्गा खड्का, बृताकुमारी ज्वारचन, जगत बोहोरा, लक्ष्मी बोहोरा, यामबहादुर पुन, सुकबहादुर रोका, शीतल गर्बुजा र यामबहादुर खड्काको परिवार विस्थापित भएका हुन् ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, वडाध्यक्ष चन्द्रप्रकाश फगामी, जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाको टोलीले घटनास्थलको अनुगमन गरेको छ । तत्काल त्रिपाल उपलब्ध गराइएको र अस्थायी भवनका लागि जस्तापाता उपलब्ध गराउने अध्यक्ष पुनले बताए । शिक्षा इकाईका प्रमुख थापाले गाउँपालिका, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरेर अस्थायी पूर्वाधार बनाएर पठनपाठनलाई निरन्तरता र दीर्घकालीन रुपमा पक्की भवन बनाउन पहल गर्ने बताएका छन् । रासस