काठमाडौं–आयोजक रसियालाई हराउँदै क्रोएशिया सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेशका लागि क्रोएशियाले आज टाइब्रेकरसम्म कुर्नुपर्‍यो । उसले टाइब्रेकरमा रसियालाई उसको घरेलु मैदानमा ४–३ ले हराएको हो ।


ADVERTISEMENT


टाइब्रेकरमा रसियाले २ पेनाल्टी गुमाउन पुगेको थियो । निक्कै नै आक्रमक र प्रतिष्पर्धात्मक भएको खेलमा रसियाले गोल गर्दे अग्रता लिएको थियो ।


ADVERTISEMENT

# # #


खेलको ३८ औं मिनेटमा चेरिसेभले गोल गर्दै रसियालाई अग्रता दिलाएका थिए । तर उसको अग्रतालाई क्रोएशियाले खेलको ३९ औं मिनेटमा गोल गर्दै बराबरी गरिदियो । क्रोएशियाका लागि करामारिकले गोल गरेका थिए ।

पहिलो हाफ १–१ को बराबरी खेलेका रसिया र क्रोएशिया दुबैले दोश्रो हाफमा गोल गर्न आक्रमण एकअर्काको पोस्टमा गरेपनि गोल गर्न असफल भए र खेल अतिरिक्त समयमा धकेलियो ।

अतिरिक्त समयमा धकेलिएको खेलमा १०१ मिनेटमा डिडेले गोल गरे र क्रोएशियालाई अग्रता दिलाए । तर १ गोलबाट पछाडी परेको रसियाले यहि नतिजामा क्रोएशियालाई खेल सुम्पेन । उसले खेलको ११५ मिनेटमा बराबरी गोल फर्कायो र आफ्नो सेमिफाइनल प्रवेशलाई पुनः जीबित पार्‍यो । रसियाका लागि सो सञ्जिबनी गोल फर्नानडेजले गरेका थिए ।

यसरी अतिरिक्त समयपनि २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुग्यो । टाइब्रेकरमा पुगेको खेलमा रसियाले घरेलु दर्शकलाई ३–४ को नतिजाले निराश पार्‍यो । नतिजा क्रोएशियाको पक्षमा गयो ।

क्रोएशियाले सेमिफाइनलमा इङ्ल्याण्डसँग खेल्नेछ । फ्रान्समा सन् १९९८ मा भएको विश्वकपमा सेमिफाइनल यात्रा तय गरेयता क्रोएशियाको यो दोश्रो विश्वकप सेमिफाइनल हो । सो विश्वकपमा क्रोएशिया आयोजक फ्रान्ससँग पराजित हुँदै फाइनल पुग्न असफल भएको थियो । उसले नेदरल्यान्डलाई हराउँदै तेश्रो स्थानमा चित्त बुझाएको थियो ।

सो विश्वकपमा क्रोएशियाका डाभोर सुकरले सर्वाधिक ५ गोल गर्दै गोल्डेन बुट जितेका थिए । २० वर्षपछि क्रोएशिया फेरि सेमिफाइनल आइपुगेको छ । उ सँग आगामी बुधबार हुने खेलमा इङ्ल्याण्डलाई पन्छाउँदै विश्वकप फाइनलमा पुग्ने मौका आएको छ ।