चितवन– भरतपुर महानगरपालिकाले विज्ञहरुको सुझावमा गुरुयोजना र सोही अनुसारको आउँदो आर्थिक वर्षका लागि बजेट निर्माण गर्न छलफल थालेको छ । अन्तर्राष्ट्रियस्तरको महानगरपालिका बनाउने संकल्प लिएको भरतपुर महानगरले व्यवस्थित गुरुयोजना बनाउँदैछ । आउँदो आवबाट बजेट पनि सोही अनुरुप निर्माण गर्न विज्ञको रायसुझाव लिने काम भइरहेको छ ।


ADVERTISEMENT


महानगरले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोख्रेल, शहरी पूर्वाधारविद् डा सूर्यराज आचार्य र राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा सुनिलबाबु श्रेष्ठलाई विज्ञका रुपमा बोलाएर सुझाव लिइरहेको महानगरकी प्रमुख रेनु दाहालले जानकारी दिएकी छन् ।


ADVERTISEMENT

# # #


“गुरुयोजना अनुरुपको बजेट निर्माण गर्न विज्ञसँग सुझाव लिइँदैछ,” उनले बताईन् । न्यून बजेटमा दीर्घकालीन र महत्वपूर्ण योजना सम्पन्न गर्नेगरी योजना छनोट गर्ने काम भइरहेको उनको भनाइ छ । सबै हिसाबले उत्कृष्ट महानगर भएकाले यसलाई अन्तर्राष्ट्रियस्तरको बनाउने गरी बजेट निर्माणमा ध्यान दिन विज्ञको सहयोग लिन थालेको दाहालले बताईन् ।

भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले महानगरलाई शहरी, मिश्रित र ग्रामीण गरी तीन भागमा विभाजन गरेर नमूना विकासका लागि बजेट निर्माण गर्न विज्ञको सुझाव लिने काम भइरहेकोे बताईन् । महानगरले २९ वटा वडामध्ये २८ वटामा भेला गरी रायसुझाव लिइसकेको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले चालु आवकोे बजेट रु तीन अर्ब ५० लाख हाराहारी हुने बताएका छन् । उनका अनुसार सुशासन र सेवा प्रवाह, सामाजिक विकास, पूर्वाधार क्षेत्र, वन वातावरण तथा विपद् व्यवस्थापन र सुशासन तथा संस्थागत विकास समिति गठन गरिएको छ । समितिले विज्ञसँग बजेटका लागि छलफल गरिरहेको छ । महानगरले विधेयक समिति निर्माण गरेको छ ।

महानगरपालिकाका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले स्थानीयस्तरका बुद्धिजीवी, विषयगत विज्ञ र सरोकारवालासँग समेत छलफल गरिरहेको बताए । रासस