काठमाडौँ–थापाथली चोकैनिर आइतबार बिहान साढे ७ बजे सानो भीड थियो । सडकपेटीमा दुई साना मेसिन राखिएका थिए । सुरक्षाकर्मी, ट्राफिक प्रहरी र वातावरण विभागका कर्मचारी, पत्रकार र सर्वसाधरणको सानो भीड लागेको थियो ।


ADVERTISEMENT


भीड बाक्लिएको एकैछिनमा राष्ट्रिय झन्डा भएको गाडीमा दुई व्यक्ति आए, अनि मुखमा माक्स र शरीरमा हरियो एप्रोन लगाए । ट्राफिक प्रहरीले सडकमा गुडिरहेको माइक्रोबस र ट्याक्सीलाई अचानक रोकेर सडक किनारमा ल्याए ।


ADVERTISEMENT

# # #


मुखमा मास्क र हरियो एप्रोन लगाएका ती दुई ब्यक्तिले माइक्रोबस र ट्याक्सीको धुवाँ फाल्ने पाइप अर्थात साइलेन्सरमा मेसिन जोडे । यी दुई व्यक्ति थिए, गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत ।

विश्व वातावरण दिवसको अवसर पारेर वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज मन्त्रीद्वय सडकमै पुगेर प्रदूषण चेकजाँचमा सहभागी भएका हुन् ।

सो क्रममा गृहमन्त्री थापाले स्वस्थ वातावरण भएमात्र नागरिक स्वस्थ रहने भन्दै यसमा सबैको साथ र सहयोग अपरिहार्य रहेको बताएका छन् ।

सवारीसाधनले प्रदूषण मापदण्ड पालना गर्नु अनिवार्य रहेको भन्दै यसको नियमित चेकजाँच आवश्यक रहेको गृहमन्त्री थापाको भनाइ छ ।

उनले धुलो र प्रदूषण बढ्नुमा भ्रष्टचार पनि जोडिएको भन्दै यसलाई निस्तेज पारिने बताएका छन् । वातावरणमन्त्री बस्नेतले वातावरण दिवसको अवसर पारेर सप्ताहव्यापी कार्यक्रमको आयोजनाअन्तर्गत आजको कार्यक्रम गरिएको बताएका छन् ।

उनले वातावरण दिवसको अवसर पारेर प्रधानमन्त्रीकै सहभागितामा यही जेठ २२ गते स्वच्छ नेपाल महाभियान शुरु गर्न लागिएको जानकारी दिएका छन् ।

प्रदूषण नियन्त्रण, फोहर व्यवस्थापन र हरियाली प्रवद्र्धनलाई एकीकृत गरेर महाभियान शुरु गर्न लागेको उनको भनाइ छ । यो अभियानमा प्रदेश र स्थानीय सरकार, निजी क्षेत्र र यो क्षेत्रमा क्रियाशील संघसंस्थासँग पनि सहकार्य गरिने उनले बताएका छन् ।

कार्यक्रममा मन्त्रीद्वय थापा र बस्नेतको पनि सवारीसाधनको प्रदूषण चेकजाँच गरिएको थियो ।