वालिङ(रासस)–स्याङ्जाको वालिङ—१३, थुमपोखराका महिला अध्ययनका लागि विद्यालय भर्ना भएका छन् ।


ADVERTISEMENT


स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा यहाँका स्थानीय २५ देखि ५२ वर्ष उमेर समूहका २० जना महिला शिक्षाको महत्व बुझेपछि विद्यालय भर्ना भएका विद्यालयका प्रधानाध्यापक गोपाल गैह्रेले बताएका छन् ।


ADVERTISEMENT

# # #


“हाम्रो पालामा छोरीलाई धेरै पढाउन हुन्न भन्ने मान्यता थियो, पढ्ने रहर हुँदाहुँदै पनि विद्यालय जान सकिएन” स्थानीय ४८ वर्षीया दीपकला गैह्रेले भनिन्, “समयको मागसँगै शिक्षाको महत्व बुझेपछि अहिले कक्षा ५ मा भर्ना भएकी छु, अब पढाइलाई निरन्तरता दिनेछु ।”

नियमित विद्यालय जाने र घरमा पनि छोराछोरीसँग नजानेका कुरा सिक्दै आफ्नो इच्छा पूरा गरेरै छाड्ने दीपकला गैह्रेको भनाइ छ । अध्ययन गर्ने समयमै विवाह बन्धनमा बाँधिनुभएकी सोही ठाउँकी २५ वर्षीया मञ्जु गैह्रेले आफ्नो अध्ययनलाई पूरा गर्न सक्नुभएन । गैह्रे अहिले लक्ष्मी माविमा कक्षा ११ मा भर्ना भएकी छन् ।

“विवाह भएकै कारण आफ्नो अध्ययन बीचमै रोकियो” मञ्जु गैह्रेले भनीन्, “अब जहाँ रोकिएको थियो त्यहीँबाट पूरा गर्ने सोच बनाएकी छु ।” अध्ययन गर्ने रहर हुँदाहुँदै पनि विविध कारणवश शिक्षा लिनबाट वञ्चित भएका महिलाका लागि विशेष खालको कक्षासहित कम्प्युटर र संगीतसम्बन्धी शिक्षा दिने गरी अघि बढेको विद्यालयले जनाएको छ ।

“इच्छाशक्ति भयो भने हरेक कुरा सम्भव छ, यहाँका महिला पनि अन्य विद्यार्थीसरह झोला बोकेर अध्ययनका लागि विद्यालयमा आउने गर्नुहुन्छ” विद्यालयका प्रधानाध्यापक गोपाल गैह्रेले भने, “उहाँहरुलाई अरु विद्यार्थीसँगै राखेर अध्ययन गर्न गाह्रो हुने भएकाले छुट्टै विशेष कक्षामार्फत नेपाली, अंग्रेजी भाषासहित सामान्य हिसाब किताब सिकाउने छौँ ।”

उमेर ढल्केसँगै विद्यालयमा आउनुहुने महिलालाई सम्मानका साथ शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराउँदै साक्षर बनाउने यो अभियानलाई आगामी दिनमा अझै प्रभावकारी ढंगबाट अगाडि बढाउने विद्यालयले जनाएको छ ।