काठमाडौँ– मन्त्रिपरिषद् बैठकले प्रेदश २ का मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमण अस्वीकृत गरिदिएको छ। मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले प्रदेश २ को मन्त्रिपरिषद्ले पारित गरि पठाएको अमेरिका भ्रमणको कार्यक्रम अस्वीकृत गरेको हो।


ADVERTISEMENT


राउतलाई अमेरिका स्थित ‘जनरल कन्भेसन अफ मधेशी एशोसिएशन भन्ने एक गैरसरकारी संस्थाले अमेरिका भ्रमणको निम्तो पठाएको थियो। निम्तोलाई स्वीकृतीका लागि केन्द्र सरकार समक्ष प्रदेश २ ले पठाएको थियो।


ADVERTISEMENT

# # #


तर केन्द्र सरकारले अहिले प्रदेश भित्रै २०७५/७६ को नीति तथा कार्यक्रम र बजेट निर्माणमा केन्द्रीत हुनुपर्ने आवश्यकता रहेको भन्दै भ्रमण अस्वीकृत गरेको हो।

‘नीति र बजेट तथा संगठनात्मक काम गर्नुपर्ने भएकाले जान अनुपयुक्त देखिएको टुङ्गो गरेको छ’, बैठकपछि सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले भने ।

केन्द्र सरकार र प्रदेश २ का मुख्यमन्त्री राउतबीच पछिलो समय सम्बन्ध सुमुधुर हुन सकेको छैन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला संविधान संशोधनको विषय उठाउनुका साथै राज्यलाई मधेस विरोधी रहेको बताएपछि राउतको आलोचना भएको थियो। केन्द्र सरकारले उनको भनाई आधिकारिक नभएको स्पष्टिकरण समेत संसदमा दिनु परेको थियो।