‘अब एक नयाँ इतिहासको सुरुवात हुनेछ । शान्तिको युग ।’


ADVERTISEMENT


काठमाडौं–उत्तर कोरियाका नेता किम जोंग उनले दक्षिण कोरिया प्रवेश गरेपछि आगन्तुक पुस्तिकामा यी शब्द कोरे । संसारको सबैभन्दा खतरनाक सीमामा शुक्रबार बिहान भिन्न माहौल बनेको थियो । दक्षिण कोरियाका राष्ट्रपति मून जे इनले किम जोंगको आग्रह स्विकार गर्दै उत्तर कोरियाको सीमामा प्रवेश भए र लगत्तै जोंगको हात समातेर दक्षिण कोरियातर्फ अघि बढे ।


ADVERTISEMENT

# # #


मुस्कुराइरहेका किम जोंगलाई निकै खुलेर स्वागत गरेका मून जे इनले जोंगको हात समातेर अघि बढिरहँदा दुबै देशका लाखौं नागरिकको उत्सुकता र आशा बढ्यो । यसको कारण पनि छ । उत्तर कोरियाका कुनै नेताले बोर्डर लाइन पार गर्न ६५ वर्ष लाग्यो र यस्तो शिखर वार्ताका लागि दुबै देशले ११ वर्ष लामो प्रतिक्षा गर्नुपर्यो ।

किम जोंग उनले पनि भने, ‘यदि हामी सोचाईको स्तरमा नजिक आउन सक्छौं भने ११ वर्षमा भएको क्षतीलाई पूर्ती गर्न सक्छौं ।’

यी दुई नेताको भेटले के उत्तर र दक्षिण कोरिया कहिले एक हुन सक्लान् ? भन्ने प्रश्न

सन् १९९० मा पूर्वी र पश्चिम जर्मनीले बर्लिनलाई एक शहरको रुपमा घोषणा गर्दै दोस्रो विश्वयुद्धपछि दुई देशमा बाँडिएको जर्मनी एक भएको थियो । कोरियाली प्रायद्वीप पनि जर्मनी जस्तै कुनैबेला एउटै मुलुक थियो । सन् १९१० देखि १९४५ सम्म कोरियाली प्रायद्वीपमाथि जापानको शासन थियो ।

दोस्रो विश्वयुद्धमा सोभियत सेनाले उत्तर हिस्सा र अमेरिकाले दक्षिणी हिस्सालाई आ–आफ्नो अधिकारमा लिए ।

एक होलान् त दुई देश ?

केही महिना अघि दक्षिण कोरियाको भ्रमण गर्ने बीबीसी संवाददाता नितिन श्रीवास्तव भन्छन्, ‘दक्षिण कोरियामा यस्ता वृद्धवृद्धा छन् जसमा एकीकरणको भावना अत्यधिक छ । उनीहरु इतिहाससँग जोडिएका छन् र उनीहरुमा पुनः एक हुने आशा छ ।’

एजेन्डामाथि छैन एकीकरणः

परिवर्तित घटनाक्रममा निगरानी राखिरहेका विश्लेषकले अहिले दुबै देशले एकीकरण बारे नसोचेको दाबी गरेका छन् । दिल्लीका जवाहर लाल नेहरु विश्वविद्यालयका प्राध्यापक डाक्टर स्वर्ण सिंह भन्छन्, ‘दुबै देश एक हुने आशा गर्नु कुनै गलत कुरा त होइन । तर अहिले जुन शिखर वार्ता भयो त्यसको मुख्य उद्देश्य उत्तर कोरियाको परमाणु र मिसाइल कार्यक्रमलाई कसरी रोक्न सकिन्छ भन्ने हो । मलाई लाग्दैन कि यो भेटले दुई देशलाई एक बनाउँछ ।’

उनी भन्छन्, ‘यदि दक्षिण कोरिया र अमेरिकाले उत्तर कोरिया र नेता किम जोंग उनसँग कुरा गर्छन् भने यसले उत्तर कोरियालाई एक राष्ट्रको रुपमा मान्यता पाउँछ । यस्ता वार्ताले एकीकरणको कुरा थोरै पर सार्ने वा रोक्ने गर्दछ किनभने उत्तर कोरिया आफूले आफैंलाई पूर्ण रुपमा सार्वभौम सम्पन्न देशको रुपमा स्थापित गर्न सक्षम हुनेछ । ’

विभिन्न समस्याः

भाषा, संस्कृति र इतिहासको साझेदारी गरेपछि पनि दुबै देशका लागि बोर्डर लाइन मेटाउन सजिलो छैन । नितिन श्रीवास्तवले एकीकरणको सम्भावनाका बाटोमा व्यवहारिक समस्याबारे बताएका छन् ।

उनी भन्छन्, ‘पछिल्लो २५ वर्षमा दक्षिण र उत्तर कोरियामा आर्थिक खाल्डो निकै चौडा भएको छ । दक्षिण कोरिया आर्थिक र प्राविधिक स्तरमा निकै माथि पुगिसकेको छ । उत्तर कोरिया अहिले पनि पुरानो फ्याक्ट्रीको मोडलमा काम गर्दछ । दक्षिण कोरियाका नयाँ पीढि उत्तर कोरियाको स्टाइलसँग आफूलाई जोड्न सक्दैनन् । यसबारे मेरा विभिन्न व्यक्तित्वसँग कुराकानी भएको छ र उहाँहरुलाई लाग्छ कि यदी एकीकरण भए छ भने पनि यो एउटा यस्तो बोझ बन्नेछ जसले यी दुबै देशलाई १० देखि २० वर्ष पछि धकेल्नेछ ।’

यस्तै, डा. सिहं याद गर्छन् कि जर्मनी पनि एक हुनुपूर्व त्यहाँ पनि यस्तै प्रकारका विभिन्न प्रश्न उब्जिएका थिए । उनी भन्छन्, ‘पश्चिमी जर्मनीमा पनि निकै शंका थियो कि एकीकरणले फाइदा नभई घाटा निम्त्याउनेछ किनभने पूर्वी जर्मनी विकसित थिएन । एकीकरणले आफूलाई फाइदा नहोला भन्ने डर दक्षिण कोरियामा पनि हुनसक्छ । कारण यो हो कि उत्तर कोरिया निकै पिछडिएको देश हो ।’

सीमा परिवर्तन गर्न सजिलो छैनः
अन्तर्राष्ट्रिय घटनाक्रममाथि नजर राख्ने विश्लेषकका अनुसार अहिलेको विश्वमा देशको सीमा परिवर्तन गर्न सजिलो छैन ।

डा. सिंह पनि यस्तै धारणा राख्छन् । उनी भन्छन्, ‘सन् १९९० मा सोभियत संघको विघटन निकै ठूलो घटना थियो । यसका कारण धेरै देशमा परिवर्तन आए । जर्मनीको एकीकरण पनि यस्तै परिवर्तनमा समावेश थियो । आज विश्वमा स्थिरता छ र कोरियाली प्रायद्वीपमा परिवर्तन आउनु सजिलो छैन ।’

दक्षिण कोरियाली जनता उत्तर कोरियाको विषयमा निकै उत्सुक छन् ।

नितिन श्रीवास्तव भन्छन्, ‘उत्तर कोरियामा के भइरहेको छ, त्यसबारे दक्षिण कोरियाका जनतालाई निकै उत्सुकता हुन्छ । यस्तो तप्का छ जसलाई उत्तर कोरियामा के भइरहेको छ, त्यसबारे पूर्ण ज्ञान छ । उनीहरुका आफन्त आज पनि उत्तर कोरियामा बस्छन् । त्यहाँको स्थिती चूनौतीपूर्ण रहेको उनीहरु बताउँछन् ।’

डा. सिंह भन्छन्, ‘दुबै देशबीच कूटनीतिक र साझेदारीको सम्बन्ध बन्ला । यो यथार्थवादी सोच हुनेछ । भविष्यमा यदि कूटनीतिक सम्बन्ध रहिरहे दुबैले एउटै देश हुनेबारे सोच्न सक्छन् तर त्यसको नकारात्मक र सकारात्मक पक्षबारे सबैले सोच्नुपर्छ ।’

उनी थप्छन्, ‘दक्षिण कोरियासँग आर्थिक शक्ति छ । उत्तरसँग परमाणु शक्ति । बलियो, सम्पन्न र एकजुट कोरिया अन्य देशका लागि पनि चुनौती बन्न सक्छ । तर यो दिशामा निकै चाँडै केही परिवर्तन होला जस्तो छैन । कोसिस कछुवाको तालमा हुन सक्लान् ।’

दुबै मुलुकलाई छुट्याउने सैन्य रेखा पार गर्ने किम जोंग उनले यसलाई शान्तीको सुरुवाती बिन्दु बताएका छन् तर अबको बाटो के होला, त्यो समयले नै निर्धारण गर्ला । एकीकरणलाई महत्वपूर्ण मान्नेहरुको हौसला किमका यी शब्दले बढाउन सक्नेछ, ‘जब हामी भेट्यौं तब मैले महसुस गरें कि हामी अलग हुनै सक्दैनौं । हामी एउटै देश हौं । म यस्तै महसुस गर्छु ।’