काठमाडौँ – साढे ३३ किलो सुन काण्डमा पुर्व डिआइजी गोबिन्द निरौला पक्राउ परेका छन् । सुन तस्करीमा सघाएको आरोपमा उनलाई पक्राउ गरिएको हो। उनलाई बानेश्वर प्रहरी बृतमा राखिएको छ।


ADVERTISEMENT


उनी गत चैत २८ गते अवकाशमा गएका प्रहरी अधिकारी हुन् । गत फागुन ९ गते दुबइबाट तस्करी भएको साढे ३३ किलो सुन गायव भएपछि गृह मन्त्रालयले छानबिन समिति गठन गरेको थियो। समितिले उनलाई आज अपरान्ह नियन्त्रणमा लिएको हो । साढे ३३ किलो सुन गायव भएपछि फागुन १९ गते भरिया शनम शाक्यको हत्या भएको थियो।


ADVERTISEMENT

# # #


त्यस्तै शाक्यको शव भेटिएको ४ दिनपछि थाइ एयरवेजका बरिष्ठ टेक्निसियन सानु बनको विमानस्थल भित्रै दुर्घटनामा परेर मृत्यु भएको खबर आयो । वनको मृत्यु कि हत्या यस विषयमा अनुसन्धान भइरहेको छ। विमानस्थलमा ट्याक्टरको ठक्करबाट उनको मृत्यु भएको भन्दै चालक सार्की लामालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

धरौटीमा रिहा भएका लामा अहिले बेखबर छन् । चैत ३० गते सुन प्रकरणमा पक्राउ परेका विमानस्थलमा कार्यरत लोडर प्रेमराज चौधरीले सिंहदरबार प्रहरी बृतमा आत्महत्या गरेका थिए।

साढे ३३ किलो प्रकरणमा सम्लग्न भनिएका यी ३ जनाकै हत्या भएको आशंका गरिएको छ। सुन प्रकरण र त्यसमा सम्लग्नहरुको हत्या हुन थालेपछि गृह मन्त्रालयले सहसचिव इश्वरराज पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ।

समिति अहिलेसम्म ३ दर्जनभन्दा बढीसँग सोधपुछ गरिसकेको छ। घटनामा सम्लग्न २० जनाभन्दा बढीलाई पक्राउ गरिसकेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक०का नेता भुजुङ गुरुङसहित बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, सम्बिर प्रसाद तोलाङ्गे, हेमन्त गौतम, ‘तक्लु’ भन्ने पुण्यप्रसाद लामा, विरेन्द्रमान श्रेष्ठ, लाल बहादुर मगर, राजु महर्जन र भारतीय नागरिक महाविर गोल्यान सुन काण्डमा मुछिएका छन् ।

अपराध महाशाखाका एसएसपी दिवेश लोहनी पनि यस काण्डमा मुछिएका छन्।

प्रक्रिया नपुर्याइ अनुसन्धान गरेको, आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर अनुसन्धान गरेको उनीमाथि आरोप लागेको छ। लोहनीलाई प्रहरी प्रधान कार्यालयले मुख्यालयमा तानेर कार्बाही प्रक्रिया अघि बढाएको छ।