काठमाडौँ– प्रहरीले काठमाडौँको न्युरोडबाट एक केजी ७ सय ग्रामभन्दा बढी सुन र अवैध रकमसहित ७ जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


शुक्रवार उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै बरामद अवैध सुन र रकमसहित पक्राउ परेकालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा ४ नेपाली र ३ भारतीय छन् ।


ADVERTISEMENT

# # #


नेपाली समूहले भारतीय समूहलाई सुन बिक्री गर्न लाग्दा उनीहरूलाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्रसिंह राठोरले जानकारी दिए ।

पक्राउ पर्नेमा दार्चुलाको टाटे–३ का ४७ वर्षीय गणेशदत्त बडु, उनका २१ वर्षीय छोरा आयुष बडु, झापाको विर्तामोड घर भएका सालाहरू ३० वर्षीय दिनेश खरेल र २२ वर्षीय भरतराज खरेल रहेका छन् । यस्तै, भारतीयमा भारतको महाराष्ट्र सांगली आटपाही थानाका १८ वर्षीय गणेश सतिश बाल्टे, ३७ वर्षीय अमेल विभुते र १८ वर्षीय रिषिकेश प्रकाश विभुते रहेका छन्।

बरामद सुन ।

सुन खरिदका लागि भारतीय समूह न्युरोड पुगेको थियो । सुन कारोबार प्रयोजनकै लागि बाफलमा बस्दै आएका गणेशदत्त बडुले न्युरोडमा कोठा भाडामा लिएर छोरा र सालाहरूलाई राखेको प्रहरीको दाबी छ । गणेश यसअघि पनि २०७४ भदौ १९ गते ठमेल क्षेत्रबाट बरामद भएको ८८ केजी सुन प्रकरणमा पनि जोडिएको देखिएको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ । चीनबाट अवैध रुपमा सुन तस्कर गरिएको प्रारम्भिक निचोड देखिएपनि यससम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।