चितवन– गोहीको आक्रमणबाट बाँच्न सफल पश्चिम चितवनको जगतपुरस्थित घैलाघारीका १२ वर्षीय बालक अर्जुन हरिजनको उपचारका लागि रु साढे दुई लाखभन्दा बढी आर्थिक सङ्कलन भएको छ ।


ADVERTISEMENT


राससबाट ‘गोहीले चपाएर पनि बाँचे अर्जुन’ शीर्षकमा समाचार बाहिर आएपछि उनको उपचारका लागि देश र विदेशमा बस्ने नेपालीबाट यसरी सहयोग प्राप्त भएको हो । अझै सहयोग आउने क्रम जारी रहेको उनको उपचारमा संलग्न विकास पाठकले जानकारी दिए ।


ADVERTISEMENT

# # #


चितवनको राप्ती नदीमा पौडी खेल्ने क्रममा गोहीको आक्रमणमा परेका उनको उपचारका लागि पत्रकार रवि रोषीको पहलमा अमेरिकाको बाल्टिमोरमा बस्दै आएका तनहुँ निवासी ध्रुवराज गिरीले ५१ हजार १५ रुपैयाँ सहयोग गरेका छन् ।

यस्तै, चितवन सेवा समाज बहराइनबाट वेदराज पौडेल र प्रकाश लामिछानेको पहलमा रु ३५ हजार ५०० सहयोग प्राप्त भएको छ । वैदेशिक रोजगारको लागि दुवईमा रहनुभएका दिलीप विश्वकर्माको अगुवाइमा ५१ हजार रुपैयाँ सङ्कलन गरी परिवारलाई उपलब्ध गराइएको आमा फुलमायाले जानकारी दिइन् ।

यस्तै, फेसबुक अभियान ‘हाम्रो जगतपुर’को पहलमा विभिन्न व्यक्तिबाट रु ३० हजार, हाम्रो पटिहानी राम्रो पटिहानीकोे पहलमा विभिन्न सहयोगीबाट पाँच हजार, एन जे सुवेदीबाट रु १० हजार, रामपुर क्याम्पस र टेक्नो म्यानेजमेन्टबाट दुई हजार २३५ रुपैयाँ सहयोग प्राप्त भएको सहयोग सङ्कलनका अभियन्ता विकास पाठकले जानकारी दिए ।