काठमाडौं– धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगितामा काठमाडौं गोल्डेन्सले लगातार तेस्रो खेलमा जित हात पारेको छ। बुधबार भएको खेलमा काठमाडौंले सिवाइसी अत्तरियालाई ११ रनले पराजित गर्‍यो। यता अत्तरियाको भने यो दोस्रो पराजय हो।


ADVERTISEMENT


धनगढीमा भएको खेलमा काठमाडौंले दिएको १ सय ३८ रनको लक्ष्य पछ्याएको अत्तरियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय २६ रन मात्र जोड्न सक्यो।


ADVERTISEMENT

# # #


अन्तिम ओभरमा १८ रन चाहिएको स्थितिमा अत्तरियाले ६ रन मात्र जोड्न सक्यो। अन्तिम ओभरमा स्ट्राइकमा रहेका विपन चन्द्रले १ छक्का मात्र प्रहार गर्न सके। उनी २६ रनमा नटआउट रहेपनि जितका लागि पर्याप्त हुन सकेन। अन्तिम ओभरमा काठमाडौंका रासिद खानले ५ बलमा रन नदिँदा एक बलमा छक्का दिएका थिए।

त्यसअघि १८ ओभरमा उनै रासिद खानले २० खर्चिएका थिए। उनलाई अत्तरियाका विपिन चन्द्र र शुभाकंर उरावले समान १०–१० रन प्रहार गरेका थिए। तर १९ ‍ओभरमा सुवोध भाटीले मेडन विकेट लिएपछि अत्तरियामाथि दबाब बढेको थियो।

अत्तरियाको ओपनिङमा आएका कुशल भुर्तेल ८ र प्रेम तामाङ ४ रनमा आउट भए। दीपेन्द्रसिंह ऐरी ९ रनमा आउट भए। गौरव चितकार चौथो विकेटको रुपमा ३६ रन बनाएर आउट भए। उनले २६ बलमा १ चौका र ४ छक्का प्रहार गरेका थिए। सन्दीप जोराले २१ रन जोड्दा कृष्ण कार्की १ रनमै पेभिलियन फर्केका थिए। शुभान्कर उरावले १२ रनको योगदान दिदा कमलसिंह ऐरी शून्यमा आउट भए।

बलिङतर्फ काठमाडौंका सुवोध भाटीले ३ विकेट लिए। उनले ४ ओभरमा १० रन खर्चिए। सनि पटेल र रासिद खानले २ विकेट लिए। सहाल अलामले १ विकेट हात पारे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले ९ विकेटको क्षतिमा १ सय ३७ रन जोड्यो। खराब सुरुवात गरेको ओपनरद्वय अमित श्रेष्ठ ६ रन र सुवोध भाटी ७ रनमा आउट भए। लगत्तै भुपेन्द्र थापा ४ रनमा आउट भएपछि काठमाडौं सुरुवातमै दबाबमा पार्यो ।

तर कप्तान ज्ञानेन्द्र मल्लले काठमाडौंको इनिङ सम्हाले। उनले ५७ रन बटुले। ४३ बल खेलेका ज्ञानेन्द्रले ४ चौका र ३ छक्का प्रहार गरे। नरेश बुढाऐरले २७ रनको योगदान दिए। उनले १७ बलमा समान २–२ चौका र छक्का हिर्काए। रासिद खानले ९ बलमा १–१ चौका र छक्काको मद्दतमा १६ रन जोड्दा काठमाडौंको योगफल प्रतिस्पर्धात्मक बनेको थियो।

बलिङतर्फ अत्तरियाका शुभान्कर उरावले ३ विकेट लिए। कृष्ण कार्की र विपिन चन्द्रले २–२ विकेट हात पारे। कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिन सफल भए।