तनहुँ – तनहुँको व्यास नगरपालिका– ११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा रहेको तोप संरक्षणको अभावमा जीर्ण बन्न थालेको छ। दरबारपरिसरमा रहेको उक्त तोप संरक्षणको पर्खाइमा छ।


ADVERTISEMENT


सत्रौँ शताब्दीमा सेनवंशीय राजाले प्रयोग गरेको उक्त तोपको संरक्षण गर्नुपर्ने स्थानीय मदन आलेले बताए। उनले भने, ‘प्राचीन अवस्थादेखि नै तोप जीर्ण अवस्थामा रहेको छ। यसको संरक्षण गर्नु अत्यावश्यक भइसकेको छ।’


ADVERTISEMENT

# # #


ऐतिहासिक सम्पदालाई जोगाउनुपर्नेमा जोड दिँदै आलेले सत्रौँ शताब्दीमा नै यसको प्रयोग भएको उल्लेख गरे। उनले भने, ‘इतिहासको संरक्षण र संवर्द्धन गर्नुपर्छ। यस्ता वस्तुको संरक्षण गरेर यहाँ घुम्न आउने पर्यटकलाई र भावी पुस्तालाई यसबारे जानकारी गराउनुपर्छ।’

तनहुँसुर घुम्न आउने पर्यटकले तोपलाई उचाल्ने, पछार्ने, पल्टाउने काम गर्न नहुने आलेले बताए। उनले भने, ‘तस्बिर खिच्ने क्रममा तोपलाई चलाउने, पल्टाउने काम गरिदिन भएन। स्थानीय सरकारले यसको संरक्षणको पहल गर्नुपर्छ। यसले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउनेछ।’

उक्त तोपमा केही दिन अगाडि क्षति पुगेको थियो। तोप तोडफोड भएकोजस्तो अवस्थामा भेटिएको वडाध्यक्ष दलबहादुर दुराले जानकारी दिए। उनले भने, ‘तोपलाई हल्लाउने, चलाउने गरेर क्षति पुगेको स्थानीयवासीबाट जानकारी पाएका छौँ।’

तोपलाई सुरक्षित राख्नका लागि परिसर आसपासमा तारबार गर्नुपर्ने स्थानीयले माग गरिरहेका वडाध्यक्ष दुराले बताए। उनले तत्कालका लागि बजेट अभाव रहेको भन्दै यस विषयमा सरोकारवाला निकायसँग छलफल गरिने उल्लेख गरे।

तनहुँसुर सेनवंशीय राजाले राज्य सञ्चालन गरेको ठाउँ हो। तनहुँ जिल्लाको नाम तनहुँसुरबाट अपभ्रंश भएर रहेको भन्ने किंवदन्ती छ। पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृंगीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनी पछिका आठ सेनवंशी राजाले दुई सय ३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास रहेको छ।

तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरू, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखाना, राजाले न्यायनिसाफ तथा कचहरी सञ्चालन गर्ने गद्दीचौतारा, साउने कुवा, कुँडापानी, बाइससिँढी चौतारी, ढुंगेसाँगु, फूलपाती ढुंगा, रानीपोखरी, धर्मशाला, रानीबगैँचा, भगवतीपानी मन्दिर यहाँका पर्यटकीय सम्पदा हुन्।

सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले तनहुँसुरलाई आफ्नो राज्यमा मिलाएका थिए। राजा मुकुन्दसेनको मृत्युपरोणान्त तनहुँ प्रदेशका प्रशासक छोरा भृंगीसेनले तनहुँलाई स्वतन्त्र राज्य घोषणा गरेका थिए। भृंगीसेनका छोरा हम्बिर सेन र धर्मांगद सेनबीच तनहुँ राज्यको उत्तराधिकारी को हुने भन्ने विषयमा विवादसमेत भएको जानकारहरू बताउँछन्।

तनहुँसुरमा हालै मात्र खड्ग कालिका मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । पुरातत्व विभागको आर्थिक सहयोगमा ०७८ चैतदेखि पुनर्निर्माण सुरु भएको ऐतिहासिक महत्वको खड्ग कालिका मन्दिरको काम सकिएर उद्घाटन गरिसकिएको छ । यहाँ रहेको दरबारको ०७६ मा पुरातत्व विभागले उत्खनन गरेको थियो । सोही दरबारको नजिकै रहेको खड्गदेवी मन्दिरको पुनर्निर्माण गरिएको हो।

केही समय अगाडिसम्म ओझेलमा रहेको तनहुँसुर अहिले पर्यटकीय स्थलका रूपमा विकास हुन थालेको स्थानीय सञ्जय श्रेष्ठले बताए। उनका अनुसार यहाँ सामुदायिक घरवास सञ्चालनमा आएको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं प्राकृतिक सम्पदा तथा जैविक विविधताको संरक्षण गर्दै तनहुँसुर भ्रमण गर्न आउने आन्तरिक एवं बाह्य पर्यटकका लागि खाना तथा आवासको सहज व्यवस्थापन देवस्थल सामुदायिक घरबास सञ्चालनमा आएको छ ।

विकास र व्यापारको खोजीमा तनहुँसुरका नेवार समुदाय दमौली, चितवन, पोखरा, काठमाडौंलगायतका ठाउँमा बसाइँ सरेर गएका थिए । तनहुँसुरबाट हिमशृंखला, महाभारत पर्वत शृंखला, कलेस्तीफाँट, चुँदीफाँट, गोरखा तथा कास्की जिल्लाका विभिन्न स्थान अवलोकन गर्न सकिन्छ।