काठमाडौँ– सत्तारूढ दलले निर्वाचनप्रति असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई यही वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा आज सत्तारूढ दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) तथा मोर्चाका शीर्षनेताबीच भएको छलफलमा सत्तारूढ दलका नेताले सरकारले संविधान संशोधन प्रस्तावलाई अघि बढाउने र मोर्चाले निर्वाचनमा सहभागी हुने प्रस्ताव राखेका हुन्।


ADVERTISEMENT

# # #


बैठकमा संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनका विषयमा कुराकानी भएको जानकारी गराउँदै माओवादी केन्द्रका नेता वर्षमान पुनले भने, “संशोधन प्रस्तावलाई टुङ्गोमा पुर्याउने र मोर्चा निर्वाचनमा सहभागी हुने विषयमा सकारात्मक छलफल भयो ।”

संशोधन प्रस्तावमा केही आवश्यक भए परिमार्जनका लागि छलफल गर्न सकिने बताउँदै नेता पुनले मोर्चाका मागका सम्बन्धमा छलफल गर्न आजै अपराह्न ३ बजे सत्तारूढको बैठक बस्ने र त्यसपछि ५ बजे मोर्चासँग छलफल गरिने जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संशोधन विधेयकमा सहमति गरेर वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुन मोर्चाका नेताहरुलाई आग्रह गरेका थिए ।

निर्वाचनमा सहभागी नुहुने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेपछि आज पहिलोपटक सरकारसँग छलफलमा जुटेको मोर्चाका नेताले स्थानीय तहको निर्वाचनभन्दा संविधान संशोधनमा मोर्चाको मुख्य चासो भएको भन्दै संशोधन प्रस्तावमा परिमार्जन हुनुपर्ने माग गरेका थिए ।

बैठकपछि मोर्चाको प्रमुख घटक राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले परिमार्जनसहित संशोधन प्रस्ताव पारित भएमा आफूहरु निर्वाचनमा सहभागी हुन तयार रहेको स्पष्ट पारे । संविधान संशोधन नै आफूहरुको मूल माग रहेको उनको धारणा थियो ।

बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष तथा प्रधानमन्त्री दाहाल, नेता वर्षमान पुन, काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, नेता प्रकाशमान सिंह, तथा मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अशोक राई, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, हृदयेश त्रिपाठीलगायत सहभागी थिए।