काठमाडौं– प्रतिनिधिसभा नियमावली मस्यौंदा निर्माण कार्य सुरु भएको छ । प्रतिनिधिसभा सञ्चालनका लागि आवश्यक नियमावली बनाउन गठित नियमावली मस्यौंदा समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले मस्यौदा निर्माणको कामलाई औपचारिकता दिएको हो ।


ADVERTISEMENT


१५ दिनभित्र सम्पन्न हुनेगरी मस्यौंदा निर्माणको काम सुरु गरिएको समितिका सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए । संघीय संसद सचिवालयले समितिमा पठाएको प्रस्तावित मस्यौदाको ‘परिभाषा खण्ड’ र ‘बैठक सञ्चालन विधि’ का विषयमा छलफल सूरु गरिएको छ । आगामी चैत्र १२ गते बस्ने बैठकले मस्यौदालाई अन्तिम रुप दिइने समितिका सभापति पोखरेलको भनाई छ ।


ADVERTISEMENT

# # #


समितिले नियमावलीमा सांसदहरुले उठाएका सवालको मन्त्रीहरुले जवाफ दिने समयसीमा समेत तोक्ने स्पष्ट पारेको छ । प्रतिनिधिसभालाई जनताप्रति उत्तरदायी बनाउन पनि सांसदहरुले उठाएको प्रश्नको जवाफ मन्त्रीहरुले दिने समयसीमा समेत तोक्ने व्यवस्था गर्न लागिएको समितिका सभापति पोखरेलले बताए ।

शुन्य समयमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ सम्बन्धित मन्त्रीले साप्ताहिक रुपमा दिने व्यवस्था पनि नियमावलीमा उल्लेख गर्ने समितिको योजना छ । सभापति पोखरेलले सांसदहरुले उठाएको लिखित प्रश्नको जवाफ मन्त्रीहरुले लिखित रुपमै दिने व्यवस्था पनि नियमावलीमा हुने बताए । प्रतिनिधिसभालाई जनताप्रति उत्तरदायी बनाउने गरी नियमावली आउने उनको दाबी छ ।

गत फागुन २२ गते गठन भएको समितिलाई १ महिना भित्र आफ्नो प्रतिवेदन तयार पारी प्रतिनिधिसभा बैठकमा पेश गर्ने कार्यादेश दिइएको छ । समितिको विहिबार बसेको बैठकले एमालेका सांसद पोखरेललाई सभापतिमा सर्वसम्मत चयन गर्दै शुक्रबारबाट मस्यौदा निर्माण कार्यलाई सुरु गर्ने कार्यविधि तय गरेको थियो ।