काठमाडौँ– गर्मीयामको सुरुआतसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ज्वरोको उपचार गर्न आएका ३० वर्षीय एक युवकमा स्वाइन फ्लु पुष्टि भएको छ ।


ADVERTISEMENT


अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले युवकमा उक्त रोगको भाइरस पुष्टि भएको जानकारी दिए । नेपालमा गत वर्षको बर्खायाममा स्वाइन फ्लुको भाइरस देखिए पनि यस पटक निकै अगाडि देखिएको डा पुनको भनाइ छ । गत फागुनमा पनि टेकु अस्पतालमा दुई व्यक्तिलाई स्वाइन फ्लु भएको पुष्टि भएको थियो ।


ADVERTISEMENT

# # #


उनले भने, ‘‘अहिले भारतका विभिन्न स्थानमा कडा खालको स्वाइन फ्लु देखिएको छ । त्यसको असर नेपालमा पर्न सक्ने पनि धेरै सम्भवना रहन्छ । त्यसका लागि पनि सजग हुन आवश्यक छ ।”

डेढ हप्ताअघि रुघाखोकी र लामो समयसम्म ज्वरो आएर उपचार गर्न आएका ती बिरामीलाई स्वाइन फ्लुको शङ्का लागेर जाँच गर्दा भाइरस भएको पुष्टि भएको हो । डा पुनले प्रतिरोधात्मक क्षमता कम भएका बिरामीलाई सो भाइरसले छिटो प्रभाव पार्ने भएकाले यसको भ्याक्सिन यस्ता व्यक्तिलाई समयमै लगाउन सके जोखिमबाट बच्न सकिने बताए।

खोकी लागिरहने, घाँटी खसखसाउने, १० दिनभन्दा बढी समयसम्म कडा ज्वरो आउने, बालबालिकामा ज्वरोसँगै बान्ता हुने र पखाला लाग्ने भएमा स्वाइन फ्लु भएको हुन सक्ने भएकाले यस्तो लक्षण देखिनेबित्तिकै जाँच गराउनुपर्ने चिकित्सकको सुझाव छ ।

स्वाइन फ्लु सरुवा रोग एकार्कामा छिटो सर्ने भएकाले सार्वजनिक ठाउँमा जाँदा मास्क लगाउने, खोक्दा वा हाछ्युँ गर्दा रुमालले मुख छोप्ने, साबुन पानीले हातमुख धुने, झोलिलो खानेकुरा खाने र स्वाइन फ्लु शङ्का लागेमा बेलैमा परीक्षण गरी सतर्कता अपनाउन सकिने बताइएको छ ।

पुनले पछिल्लो अध्ययनले बढी प्रदूषण भएका देश र सहरमा यसको भाइरस बढी देखिएको बताउँदै काठमाडौँमा बढ्दै गएको वायु प्रदूषणले पनि सो रोगको जोखिम बढाउन सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरे ।