काठमाडौँ– भारतको पाँचदिने राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई समकक्षी प्रणव मुखर्जी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा स्वागत गरेका छन्। राष्ट्रपति भण्डारीको स्वागतका लागि राखिएको ‘गार्ड अफ अनर’ कार्यक्रममा भारतीय समकक्षी मुखर्जी र प्रधानमन्त्री मोदीले स्वागत गरेका हुन् ।


ADVERTISEMENT


भारतको राष्ट्रपति भवन फोरकोर्टमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीलाई शुरुमा मुखर्जी र त्यसपछि मोदीले स्वागत गरेका थिए। त्यहाँ स्वागत ग्रहण गरेपछि राष्ट्रपति भण्डारी विहान साढे ९ बजे राजघाटस्थित माहात्मा गान्धीको समाधिस्थलमा पुगेर सम्मान प्रकट गरेकी छन् ।


ADVERTISEMENT

# # #


यसैबीच राष्ट्रपति भण्डारीसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बिहान साढे ११ बजे राष्ट्रपति भवनमा भेट गर्ने कार्यक्रम छ भने सवा १२ बजे गृहमन्त्री राजनाथ सिंहले भेट गर्नेछन्। यस्तै आजै दिउँसो पौने ४ बजे वित्तमन्त्री अरुण जेटली राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। यस्तै मंगलबार बेलुका साढे ४ बजे प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति भण्डारीबीच दुई पक्षिय हितका बारेमा भेटवार्ता हुने कार्यक्रम छ। यस्तै आजै साढे ५ बजे उपराष्ट्रपति हमिद अन्सारीले शिष्टाचार भेट गर्नेछन्।

यस्तै भारतीय राष्ट्रपति प्रणव मुखर्जीले साँझ साढे ७ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन्। लगत्तै भण्डारीको सम्मानमा मुखर्जीले रात्रीभोजको आयोजना गर्ने कार्यक्रम तय भएको छ। कार्यक्रममा दुबै देशका राष्ट्रपतिले सम्वोधन गर्ने कार्यक्रमसमेत राखिएको छ ।

मंगलबार दिल्लीको औपचारिक कार्यक्रम सकिएपछि राष्ट्रपति भण्डारी बुधबार उडिसामा र विहीबार गुजरात जानेछिन्। राष्ट्रपति भण्डारीको टोली शुक्रबार उडिसाबाट दिल्ली हुँदै नेपाल र्फकने कार्यक्रम रहेको छ।