काठमाडौं–प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिने भएको छन् । दिउँसो १ बजेका लागि विश्वासको मत लिने कार्य सूची प्रदेशसभा सचिवालयले तयार पारेकोे छ । ‘मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने, प्रदेशसभा नियामावली पारित गर्ने र आर्थिक कार्यविधि टेबल गर्नेलगायत कार्यसूची तयार पारेका छौं,’ प्रदेशसभा सचिवालयका सचिव शम्भुप्रसाद खड्काले भने ।


ADVERTISEMENT


संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । माघ २८ गते प्रदेश ४ का एमाले संसदीय दलका नेताका रुपमा निर्वाचित गुरुङले २९ गते प्रदेश प्रमुख बाबुराम कुँवरबाट नियुक्ति लिएका थिए ।


ADVERTISEMENT

# # #


६० जना प्रदेशसभा सदस्य रहेको प्रदेश ४ मा मतदानबाट गुरुङको पक्षमा बहुमत अर्थात् ३१ मत प्राप्त हुनुपर्छ । एमालेको २७ र माओवादीको १२ सदस्य रहेकाले गुरुङले सजिलै बहुमत प्राप्त गर्नेछन् । प्रदेशसभाबाट विश्वासको मत प्राप्त भएपछि मुख्यमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने संविधानले नै व्यवस्था गरेको छ ।

प्रदेश ४ मा एमाले, माओवादी बाहेक कांग्रेसको ११, जनमोर्चाको ३, नयाँ शक्तिका २ सदस्य छन् भने १ जना स्वतन्त्र सांसद् छन् । एमालेको समर्थनमा मनाङबाट स्वतन्त्र सांसद बनेका दीपक मनाङे कर्तव्य ज्यान मुद्दामा दोषी ठहरपछि प्रहरीको वान्टेड सूचीमा छन् । यसका साथै फागुन २१ मा पेश भएको प्रदेश नियमावली पारित गर्ने कार्यसूची समेत आजको बैठकको छ ।

बिहीबारको मन्त्रिपरिषद बैठकले पारित गरेको आर्थिक कार्यविधि विधेयक पनि आज बस्ने संसद बैठकमा टेबल हुनेछ । संसद बैठकले कार्यविधि पारित गरेसँगै प्रदेशको बजेट ल्याउन बाटो खुल्नेछ । ‘आर्थिक कार्यविधि विधेयक संसदमा टेबल भएर पारित भएसँगै त्यही कानुनलाई टेकेर प्रदेशको पूरक बजेट ल्याउन बाटो खुल्नेछ,’ आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले भने, ‘चैतमा हामीले पूरक बजेट ल्याउने तयारी गरेका छौं ।’