काठमाडौँ — उच्च अदालत पाटनको आदेशपछि काठमाडौँ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे बिहीबार पुनः कार्यस्थलमा फर्किएका छन्। अदालतले उनलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि पाण्डे नियमित समयमै कार्यालयमा हाजिर भएका हुन्।


ADVERTISEMENT


बुधबार उच्च अदालत पाटनका न्यायाधीश ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले पाण्डेको पक्षमा अन्तरिम आदेश जारी गर्दै उनलाई यथावत् रूपमा कार्यरत रहन दिन आदेश दिएको थियो। अदालतको आदेशअनुसार, मुद्दाको अन्तिम टुंगो नलागेसम्म पाण्डेलाई महानगर प्रहरी प्रमुखकै हैसियतमा काम गर्न दिइने छ।


ADVERTISEMENT

# # #


उक्त आदेशपछि पाण्डे बिहीबार बिहान काठमाडौं महानगरपालिका अन्तर्गतको नगर प्रहरी कार्यालयमा पुगेर नियमित कार्यभार सम्हालेका हुन्। उनले कार्यालयमा पुगेपछि केही आन्तरिक छलफलसमेत गरेका छन्।

यसअघि पाण्डेलाई महानगरपालिकाले विभिन्न कारण देखाउँदै निलम्बन गर्ने निर्णय गरेको थियो। तर पाण्डेले उक्त निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेका थिए। रिटमा अदालतले तत्कालका लागि उनीमाथि गरिएको निलम्बन कार्यान्वयन नगर्न भनिएको हो।

न्यायिक आदेशपछि अब पाण्डे पुनः आफ्नो जिम्मेवारीमा फर्किएको स्पष्ट भएको छ भने महानगर प्रहरी बलमा नेतृत्वको निरन्तरता कायम भएको छ। अदालतको अन्तिम फैसलासम्म उनी नै प्रमुखको भूमिकामा रहने छन्।