काठमाडौँ – गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दोहोर्याएका छन् । उक्त प्रकरणबारे शुक्रबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै हालतमा संलग्नता हुन नसक्ने जिकिर गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको विरोधकैबीच बोलिरहेका गृहमन्त्री लेखकले आफूमाथि नियोजित र षड्यन्त्रमूलक ढंगले आरोप लगाएको बताए । ‘अख्तियारले अनुसन्धान थालेको मेरो संmग्नता छ भनी गरिएको प्रचार प्रसार र सामाजिक सञ्जालमा अभिव्यक्त विचारमा कुनै सत्यता छैन । उक्त कार्यमा मेरो कुनै संलग्नता छैन, हुन सक्दैन भन्ने कुरा म सम्मानित सदनलाई आग्रह गर्न चाहन्छु ।’ उनले भने, ‘मेरा विरुद्धमा नियोजित ढंगले, षड्यन्त्रमूलक ढंगले, राजनीतिक रुपले आक्रमण गर्ने प्रयत्न भयो ।’
साथै उनले अख्तियारले छानबिन गरिरहेको विषयमा सम्बन्धित मन्त्री वा सरकारसँग जोड्ने र जवाफ दिने हो भने विगतमा भएका कतिपय भ्रष्टाचारका विषयमा कति मन्त्रीले जवाफ दिए भन्दै प्रश्न गरे । अख्तियारले गरिरहेको काममा आफूले खुला हृदयले स्वागत गर्ने र अनुसन्धानमा कुनै प्रभाव नपार्ने दाबी गरे ।
‘स्वतन्त्र निकायलाई स्वतन्त्र रुपमा अनुसन्धान गर्न र निष्कर्षमा पुग्न दिउँ । मेरो आफ्नो व्यक्तिगत मूल्य र जीवन आदर्शले कुनै अनुसन्धान प्रभावित पार्न दिँदैन । म यसो गर्दिनँ ।’ उनले भने, ‘म न्यूनतम नैतिक आचरणमा बस्ने व्यक्ति हुँ । अख्तियारले गरिरहको अनुसन्धान मेरो प्रत्यक्ष वा अप्रत्यक्ष मातहतमा पर्दैन ।’
आयोगमा भइरहेको अनुसन्धानबारे आफूलाई कुनै जानकारी नभएको र आवश्यक परे पूर्ण सहयोग गर्ने उनले बताए ।
त्यस्तै गृहमन्त्री लखेकले भिजिट भिसा प्रकरणमा आफ्नाविरुद्ध पार्टी कार्यालयमा नक्कली पीडित खडा गरिएको किर्ते जाहेरी तयार पारिएको भन्दै कारवाही गर्ने चेतावनी समेत दिए । उनले यस विषयमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीच भएको सहमतिलाई अक्षरस कार्यान्वयन गर्ने प्रतिवद्धता समेत जनाए ।