काठमाडौँ– परराष्ट्रमन्त्री डा आरजु राणाले अवैध रुपमा विदेश पुगेका नेपालीहरुका सम्बन्धमा गृह र श्रम मन्त्रालयसँगको समन्वयमा अध्ययन भइरहेको जानकारी दिएकी छन् ।
सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री राणाले नेपालको श्रम गन्तव्य नरहेका र अवैध रुपमा विदेश पुगेका नेपालीहरुका सम्बन्धमा गृह र श्रम मन्त्रालयसँगको समन्वयमा काम अघि बढाइएको जानकारी दिएकी हुन् ।
उनले वैदेशिक रोजगारसँग सम्बन्धित समस्याहरूको समाधानका उपाय पेश गर्ने गरी परराष्ट्र मन्त्रालयको संयोजकत्वमा सम्बन्धिन निकायका सदस्यहरू रहको एक समिति गठन भएको पनि बताइन् ।
उनले नेपालको परराष्ट्र नीतिलाई थप अब्बल र विस्तारित बनाउन तथा विश्वमा विकसित विभिन्न परिस्थितिका कारण नेपाली नागरिकलाई आवश्यक कन्सुलर सेवा समेत प्रदान गर्नका लागि आवश्यक जनशक्तिको व्यवस्था गरिएको जनाइन् ।
मन्त्री राणाले अन्तर्राष्ट्रिय स्तरमा देखिएको राजनीतिक परिवेशका कारण सहयोगका मोडालिटीहरुमा पनि परिवर्तन हुने अवस्था देखिएकाले कूटनीतिक पहलहरुमा पनि अब विचार गर्नुपर्ने अवस्था रहेको उल्लेख गरिन् ।
उहाले आफू परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि नेपालका मित्रराष्ट्रहरु तथा विश्व समुदायसँग कूटनीतिक सक्रियता बढाएको बताइन् । मन्त्री राणाले सगरमाथा संवादको आयोजना गरेर जलवायु परिवर्तनका कारण समस्यामा परेको नेपालले यससम्बन्धी आफ्नो एजेण्डालाई विश्व समुदायमा स्थापित गर्ने काम गरेको समेत धारणा राखिन् ।