काठमाडौँ – नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारप्रतिको आक्रोशलाई समयमा नै सम्बोधन गर्न नसके ठूलो जनआन्दोलनको स्थीति बन्ने बताएका छन् ।


ADVERTISEMENT


माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग जागर कार्यक्रम अन्र्तगत शुक्रबार बागलुङमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले जनतामा दिनप्रतिदिन आवेग र आक्रोश बढ्दै जाँदा पनि सरकार उल्टो बाटोमा हिँडिरहेको भन्दै सरकारप्रतिको आक्रोशलाई समयमा नै सम्बोधन गर्न नसके ठूलो जनआन्दोलनको स्थिति बन्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले प्रतिपक्षीको हैसियतले सरकारलाई खवरदारीमात्रै गरेको र जनतामा आन्दोलनको अपिल नगरेको भन्दै सरकार यही रुपमा अघि बढे बर्खापछि ठूलो जनविद्रोह गर्ने चेतावनी दिए ।

‘नेपालमा निकै ठूलो जनआन्दालेनको स्थिति बन्नछे । जनतामा एउटा आवेग, आक्रोश दिन प्रतिदिन बढ्दै गएको छ । तर, सरकार उल्टो बाटो चल्दै गएको छ ।’ उनले भने, ‘सरकार यही रुपमा अघि बढ्ने हो भने सायद आउने बर्खापछि एउटा शक्तिशाली आन्दोलन नेपालमा बन्छ । त्यसले एउटा नयाँ आर्थिक क्रान्तिको वातावरण, नयाँ सांस्कृतिक क्रान्तिको वातावरण तयार गर्छ ।’

उनले विगतमा पनि माओवादीले राखेका मुद्धाहरुलाई राज्यले गम्भीर रुपमा नलिदा १० वर्षे जनयुद्ध भएको उनले बताए । उनले आफू प्रधानमन्त्री हुदा गरेको कयौँ कामहरु अहिलेको सरकारले बिगारेको बताए ।

माओवादीलाई बलियो बनाउन पार्टीका सबै नेताहरु देश दौडाहमा हिँडेको उल्लेख गर्दै प्रचण्डले माओवादी बलियो भए भ्रष्टाचार अन्त्य र नयाँ आर्थिक क्रान्तिका साथ समाजवादको नयाँ मोडलतर्फ देशलाई अघि बढाउने दाबी गरे ।