म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका–८ नागीमा युवाहरुलाई चोयाका सामान बनाउने सीप सिकाउन थालिएको छ ।


ADVERTISEMENT


मौलिक र परम्परागत सीप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री चोयाका सामग्रीको प्रयोग बढाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको गरिबी निवारणका लागि लद्यु उद्यम विकास कार्यक्रममार्फत यही जेठ ५ गतेदेखि सुरु भएको तालिम २४ गतेसम्म सञ्चालन हुनेछ ।


ADVERTISEMENT

# # #


तालिममा १७ जना सहभागी रहेको अन्नपूर्ण गाउँपालिकाका उद्यम विकास सहजकर्ता विष्णु गौतमले जानकारी दिए । तालिममा निगालो र बाँसको चोयाबाट डोका, नाङ्लो, डाली, थुन्से, भकारी, नाम्लो, दाम्लो बुन्न सिकाइने उनले बताए । चोयाका सामान बनाउने सीप सिकाउन रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका अनिल पाइजालाई प्रशिक्षकका रुपमा ल्याइएको छ । चिमखोलाका बासिन्दामा निगालोबाट आकर्षक डोका बनाउने सीप छ ।

फ्लास्टिकका सामानका कारण प्रदूषण बढेकाले चोयाबाट बनेका सामग्री प्रयोगमा ल्याउन सीप सिकाउन थालिएको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताए । प्रति डोकालाई रु एक हजारदेखि दुुई हजार पाँच सय मूल्य पर्छ ।

गाउँमै रहेको कच्चापदार्थको प्रयोगबाट आत्मनिर्भर र वायु प्रदूषण घटाउने प्लास्टिकजन्य सामानको आयात घटाइ आयआर्जनको अवसर सिर्जना हुने उपाध्यक्ष तिलिजा पुनले बताए ।