भक्तपुर— १२१ वर्ष पुरानो इतिहास बोकेको भक्तपुर अस्पतालले आधुनिक स्वास्थ्य सेवाको युगमा प्रवेश गर्दै आइतबारदेखि १२८ स्लाइस क्षमताको अत्याधुनिक सिटी स्क्यान सेवा औपचारिक रूपमा सुरु गरेको छ।
बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले एक विशेष समारोहबीच उक्त सेवाको उद्घाटन गर्दै यसलाई भक्तपुर अस्पतालको इतिहासमै एउटा ऐतिहासिक मोड भएको बताए।
मन्त्री थापाले भक्तपुर अस्पताललाई विगतमा उपेक्षा गरिए पनि हाल प्रदेश सरकारले यसलाई प्रविधियुक्त सेवा केन्द्रको रूपमा विकास गर्दै अघि बढाएको उल्लेख गरे। “अब भक्तपुरमै गुणस्तरीय सिटी स्क्यान सेवा उपलब्ध भएकाले सर्वसाधारणले ललितपुर वा काठमाडौं धाउनु पर्ने झन्झट हटेको छ,” उनले भने।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले स्वास्थ्य क्षेत्रमा सबै राजनीतिक दलहरूको सहकार्य रहेको भन्दै भक्तपुरलाई स्वास्थ्य सेवा ‘हव’ बनाउनुपर्नेमा जोड दिए। सचिव डा। सुमित्रा गौतमले सिटी स्क्यान मेसिन जडान गर्ने कम्पनीसँग १० वर्षे सेवा तथा मर्मतसम्बन्धी ग्यारेन्टी भएको जानकारी दिँदै आवश्यक उपकरण र जनशक्तिको व्यवस्थापन भइसकेको बताइन्।
अस्पतालका कार्यकारी निर्देशक डा. सुरेन्द्रप्रसाद भट्टले अब बिरामीले राजधानी धाउनु नपर्ने अवस्था आएको भन्दै सेवा विस्तारले भक्तपुरवासी मात्र नभई आसपासका जिल्लाका नागरिकलाई पनि प्रत्यक्ष लाभ पुग्ने बताए। स्थानीय सरकार, प्रदेश सरकार र समुदायको सहकार्यले भक्तपुर अस्पताललाई गुणस्तरीय र जनमुखी सेवा दिने केन्द्र बनाउने दिशामा महत्वपूर्ण कदम चालिएको हो।
भक्तपुर नगरपालिका, जनप्रतिनिधि तथा स्थानीयको सक्रियतासँगै सुरु भएको यो सेवा भक्तपुर अस्पतालको इतिहासमै एक ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ, जसले आधुनिक चिकित्सा प्रविधिमा सर्वसाधारणको पहुँच सुनिश्चित गर्नेछ।