चितवन — नारायणगढ–मुग्लिन सडकखण्डमा वर्षायाममा हुन सक्ने पहिरोको समस्या पहिचान गरी समाधानका काम सुरु गरिएको छ। गत वर्षको असारमा सिमलतालमा दुईवटा बस पहिरोले बगाएपछि त्यस खालको समस्या नआओस् भन्नका लागि सावधानी अपनाइएको हो।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इञ्जिनियर नारायण लामिछानेका अनुसार संवेदनशील ठाउँहरूमा पहिरो नियन्त्रणका काम भएका छन्। गत वर्ष घटना भएको सिमलतालको माथिल्लो भागमा लेदो बगेर नआओस् भन्नका लागि साना ‘चेक ड्याम’ निर्माण गरिएको उनले बताए । यस्तै, मौरी खोला पुलको माथिल्लो भागमा पनि चेक ड्याम र खोल्सो बनाउने ९लाइनिङ० को काम भएको छ।
कालीखोलालगायतका जोखिमयुक्त ठाउँहरूमा पनि आवश्यकताअनुसार पहिरो रोकथामका काम भएको उनले बताए। उनले भने, ‘यो वर्ष पहिरोले दुःख नदेला भन्ने अपेक्षा गरौँ।’ पहिरो आइहालेमा तत्काल पन्छाउने गरी व्यवस्थापन गरिएको उनले जानकारी दिए।
कार्यालयले सडकखण्डको सेतीदोभान क्याम्पमा ब्याक्होलोडर, ट्रक, स्काभेटर, लोडर, मिनी टिपरसहितका उपकरण राखिएको जानकारी दिए। त्यसैगरी, भरतपुरस्थित कार्यालयमा पनि यस्ता उपकरण तयारी अवस्थामा राखिएको छ।
प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले पहिरो नियन्त्रण र पहिरो खसिहालेमा तत्काल पन्छाउन आवश्यक तयारी गरिएको बताए। उनका अनुसार डिभिजन सडक र सुरक्षा निकायका अधिकारीहरूबीच यसअघि छलफल गरी तयारीको काम सुरु गरिएको हो। गत वर्षको असार २८ गते दुईवटा रात्रिकालीन बस बगाउँदा ६२ जना हाराहारी यात्रु बगेका थिए। तीमध्ये कतिपय अझै बेपत्ता छन्। ती दुईवटा बस समेत फेला परेका छैनन्।
सिमलतालमा बेपत्ता बसका ३९ यात्रु अझै भेटिएनन्
गत वर्षको असार २८ गते राति दुईवटा बस एकै ठाउँबाट पहिरोसँगै त्रिशूलीमा खसेका थिए। ती बसका यात्रुमध्ये ३९ जना अझै बेपत्ता छन्। नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा ती दुई बसमा ६२ जना यात्रु सवार थिए। तीमध्ये तीन जना जीवित, २० जनाको शव भेटिएको थियो भने बाँकी अझै बेपत्ता छन्।
दुवै बस अहिलेसम्म भेटिएका छैनन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार बा प्र ०३–००६ ख १५१६ नम्बरको एञ्जल्स डिलक्स बसमा २६ जना यात्रु सवार थिए। तीमध्ये १० जना मृत फेला परेका र १६ जना अझै बेपत्ता छन्। तीमध्ये सात जना भारतीय यात्रु रहेका थिए, जसमा दुई जना मृत फेला परेका र चार जना अझै बेपत्ता छन्।
त्यस्तै, बा प्र ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसमा ३६ जना यात्रु सवार थिए। तीमध्ये तीन जना जीवित, १० जनाको शव फेला परेको र २३ जना अझै बेपत्ता रहेको जानकारी दिइएको छ। तीमध्ये चार जना भारतीय यात्रु थिए, जसमा तीन जना मृत फेला परेका थिए भने एक जना अझै बेपत्ता छन्।
लेदोसहितको पहिरोले वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल्स डिलक्स र काठमाडौँबाट रौतहटको गौरका लागि छुटेको बागमती गणपति डिलक्स बसलाई त्रिशूलीमा खसालेको थियो।
उक्त समयमा नेपाली गोताखोरले मात्र नसकेपछि विदेशबाट समेत गोताखोर बोलाइएको थियो। तर, गोताखोरहरूले पनि बेपत्ता यात्रु र बस फेला पार्न सकेका थिएनन्। त्रिशूलीमा बाढी आएपछि लामो समय खोजी कार्य गरिए पनि बेपत्ता यात्रु र बस फेला परेका छैनन्। कतिपय शव त्रिशूली र नारायणीका विभिन्न स्थानबाट फेला परेका थिए। दुईवटा शव भारतमा फेला परेका थिए।