काठमाडौं – शेरबहादुर देउवा सरकारबाट राष्ट्रियसभा सदस्यको लागि सिफारिसमा परेर पनि केपी ओलीको सरकारले नयाँ तीन जनालाई सिफारिस गरेपछि सोविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामाथि आज (सोमबार) पनि बहस भएन । न्यायाधीशद्वय केदारप्रसाद चालिसे र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासमा तोकिएको सो मुद्दा समय अभावले आज हेर्न नमिल्ने भन्दै सरेको हो । अर्को तारेख भने तोकिसकिएको छेैन ।


ADVERTISEMENT


यसअघि न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले फागुन २० गतेलाई शपथ ग्रहण नगर्नू नगराउनू भनी अन्तरिम आदेश दिएको थियो । आदेशमा दुवै पक्षलाई छलफलको लागि फागुन २० गते अदालतमा उपस्थित हुन भनिएको थियो । त्यसयता सो मुद्दाको सुनुवाइ हुन सकेको छैन । राष्ट्रियसभा सदस्यका लागि देउवा सरकारले सिफारिस गरेका गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीले फागुन ११ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।


ADVERTISEMENT

# # #


रिटमा राष्ट्रपतिले समेत सिफारिस अड्काएर गैर संवैधानिक कार्य गरेको भन्दै पुरानै निर्णय कार्यान्वयन गर्न उनीहरुले माग गरेका छन् । साथै पुरानै सरकारको निर्णय अनुसार प्रत्यार्थीको नाममा परमादेश र मुद्दाको अन्तिम टुंगो नलागेसम्म सपथ गर्न नगराउन विपक्षीको नाममा आन्तरिम आदेश समेत माग गरिएको छ ।