काठमाडौँ – राजसंस्था पुनस्र्थापनाको लागि गठित संयुक्त जनआन्दोलन परिचालन समितिले आगामी जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको छ ।


ADVERTISEMENT


बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले राजसंस्था पुनस्र्थापनको लागि भन्दै अनिश्चित कालीन आन्दोलनको घोषणा गरेको हो । आन्दोलनको संयोजन र परिचालन नवराज सुवेदीको संयोजकत्वमा गठित संयुक्त जनआन्दोलन समितिमार्फत हुने समितिले जनाएको छ ।


ADVERTISEMENT

# # #


समितिका संयोजक नवराज सुवेदीले जेठ १५ गतेदेखि सुरु हुने आन्दोलन हिन्दुराष्ट्र र राजसंस्था स्थापना नभएसम्म नटुङ्गिने स्पष्ट पार्नुभयो । उहाले आफुहरुको आन्दोलनमा कुनै पनि बाह्य शक्तिहरुको संलग्नता नरहने भन्दै नेपाली जनताको राष्ट्रबादी आन्दोलन हुने बताए ।

सुवेदीले राजा र जनताबीचको एकतालाई फेरि जोड्ने र सनातन धर्म संस्कृति र परम्परामा आधारित नेपालको मौलिक पहिचानको रक्षा गर्ने आफुहरुको संयुक्त प्रयास भएको जिकिर गरे । उनले २०७२ साल असोजमा जारी गरिएको संविधानले स्थापना गरेको संघीय, धर्मनिरपेक्ष गणतन्त्र पूर्ण रुपमा असफल प्रमाणित भएको दाबी गरे ।

पत्रकार सम्मेलन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफुहरुको आन्दोलन कुनै व्यक्तिका लागि नभए देशको सुखद भविष्यका लागि भएकाले निष्कर्षमा नपुगी आन्दोलन नरोकिने स्पष्ट पारे । उनले गल्ती सच्चाउन तयार हुन सुझाव दिदै गल्ति नसच्चाए भाग्न तयार हुन चेतावनी दिए ।

त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफुहरुको आन्दोलन राष्ट्रबादी भएकाले सहभागी हुन आह्वान गरे । भ्रष्ट शासकहरुबाट देशलाई मुक्त गराउने र हिन्दुराष्ट्र र राजसंस्था पुनस्र्थापना गरी मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउनका एकतावद्ध भएर अघि बढ्ने उनले बताए ।

अध्यक्ष थापाले आगामी जेठ १५ गतेदेखि सुरु हुने आन्दोलनले निष्कर्षमा नपुगेसम्म बिश्राम नलिने स्पष्ट पारे ।