काठमाडौं– बीपी स्मृति अस्पताल काठमाडौं महानगरपालिकाको कारवाहीमा परेको छ ।
अस्पतालले हानिकारक फोहोर निर्मूलीकरण नगरी सामान्य फोहोरमा मिसाउने, अस्पताल परिसरमा दुर्गन्ध हुन्जेल फोहोर राख्ने जस्ता लापरवाही गरेपछि महानगरले कारवाही गरेको हो । यसअन्र्तगत महानगरले अस्पताललाई ५० हजार जरिवाना तिराएको छ ।
महानगरका अनुसार, यसबारे कल सेन्टरमा फोन गरेर अस्पतालले फोहेर व्यवस्थापन नगरी धेरै दिनसम्म अस्पतालको कम्पाउण्डमा राखेर दुर्गन्ध फैलाएको भन्दै जानकारी आएको थियो ।
महानगरले दिएको जानकारी अनुसार सोमबार गुनासो दर्ता भए लगत्तै विभागका वरिष्ठ अधिकृत सानुमैया महर्जनको नेतृत्वमा वातावरण निरीक्षक सृष्टि श्रेष्ठ, स्वास्थ्य विभाग र महानगर प्रहरी बलका प्रतिनिधिसहित अनुगमन गएका थिए ।
अनुगमनमा पुग्दा अस्पतालहरूले हानिकारक फोहोर व्यवस्थापनमा गरेका लापरवाही तरिकाले राखेको भेटिएको हो ।