काठमाडौँ– भारत र पाकिस्तानबीचको पछिल्लो सैन्य तनावका विषयमा चीनले पहिलो पटक औपचारिक प्रतिक्रिया दिएको छ। चिनियाँ विदेश मन्त्रालयले भारततर्फबाट पाकिस्तानमाथि गरिएको सैन्य कारबाहीलाई ‘खेदजनक’ भन्दै दुबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले आज आयोजित पत्रकार सम्मेलनमा भनिन्, ‘हामी त्यहाँ भइरहेको सबै गतिविधिलाई चासोपूर्वक हेरिरहेका छौँ। आज बिहानै भारततर्फबाट भएको सैनिक अपरेसन खेदजनक छ।’
उनले भारत र पाकिस्तानबीच शान्ति र स्थायित्व कायम राख्न चीनले सधैं समर्थन गर्दै आएको उल्लेख गर्दै भनिन्, ‘हामी दुबै पक्षलाई संयमित रहन र तनावलाई थप नबढाउने उपाय अवलम्बन गर्न आग्रह गर्छौं। दक्षिण एसियामा शान्ति, स्थायित्व र विकासका लागि यो अत्यावश्यक छ।’
भारतले पछिल्लो समय पाकिस्तान नियन्त्रित काश्मीर र अन्य क्षेत्रहरूमा रहेको भनिएका आतंकवादी अड्डामाथि मिसाइल आक्रमण गरेको थियो। भारतीय सञ्चार माध्यमका अनुसार, ‘अपरेसन सिन्दूर’ नाम दिइएको उक्त कारबाहीमा करिब ३० जनाको मृत्यु भएको दाबी गरिएको छ। यता पाकिस्तानले भने ८ जनाको मृत्यु र ३५ जना घाइते भएको जानकारी दिएको छ।
चीनको यस्तो प्रतिक्रिया भारत र पाकिस्तान दुवैसँगको घनिष्ठ कूटनीतिक सम्बन्ध भएको देशको हैसियतमा आएको हो। क्षेत्रीय सुरक्षा संवेदनशील बन्न थालेका बेला चीनको चासो र शान्तिका लागि गरिएको आग्रहलाई अन्तर्राष्ट्रिय समुदायले गम्भीरतापूर्वक लिएको छ।