काठमाडौं – भारत र पाकिस्तानबीच चर्किंदो तनावको बीचमा पाकिस्तानी सेनाले पाँच वटा भारतीय फाइटर जेट खसालेको दाबी गरेको छ। पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल अहमद शरीफ चौधरीले रोयटर्सद्वारा सार्वजनिक गरिएको भिडियोमा उक्त जानकारी दिएका हुन्।
उनका अनुसार, खसालिएका विमानमा तीन राफेल, एक एसयू-३०, एक मिग-२९ र एक हेरोन ड्रोन रहेका छन्। यद्यपि पाकिस्तानले यी विमानहरू कहिले, कहाँ, र कसरी खसालियो भन्ने विस्तृत विवरण भने सार्वजनिक गरेको छैन।
भारतको प्रतिक्रिया : खण्डन र फ्याक्ट चेक
भारतले यसबारे आधिकारिक प्रतिक्रिया नदिए पनि प्रेस सूचना ब्यूरो (पिआईबी) अन्तर्गतको ‘फ्याक्ट चेक’ एकाउन्टले पाकिस्तानको दाबीलाई खारेज गरेको छ।
सोसल मिडियामा पाकिस्तानतर्फबाट भारतीय सेना ब्रिगेड मुख्यालय नष्ट गरिएको दाबी पनि गरिएको थियो, जसलाई पिआईबी फ्याक्ट चेकले ‘पूर्ण रूपमा गलत’ भन्दै खण्डन गरेको छ।
बीबीसीका अनुसार भारत सरकारले अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन। अमेरिकी सञ्चार संस्था सीएनएनले स्वतन्त्र रूपमा पाकिस्तानी दाबीको पुष्टि गर्न नसकेको उल्लेख गर्दै भारतीय सरकारसँग प्रतिक्रिया मागिएको जनाएको छ।
यो घटनाले भारत–पाकिस्तानबीचको सैन्य तनावलाई अझ चर्काएको छ। दुवै देशले आ–आफ्नो पक्षबाट आरोप–प्रत्यारोप गरिरहेका छन्, तर स्वतन्त्र पुष्टि अभावका कारण अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन आग्रह गरिरहेको छ।