काठमाडौँ – भारतले पाकिस्तानमाथि लक्षित मिसाइल आक्रमण गरेको छ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार, पाकिस्तान नियन्त्रित काश्मीर र अन्य क्षेत्रमा रहेका आतंकवादी अड्डालाई निशाना बनाउँदै आक्रमण गरिएको हो। यस आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको भारतीय पक्षको दाबी छ।
भारतीय सेनाले सो कारबाहीलाई “अपरेसन सिन्दूर” नाम दिएको छ। भारतको भनाइअनुसार, यो आक्रमण पाकिस्तानको सैन्य क्षेत्रमा नभई आतंककारी गतिविधि भइरहेका स्थानहरूमा मात्र गरिएको हो।
यो कारबाही अप्रिल २२ मा भारत-नियन्त्रित कश्मीरमा भएको आक्रमणपछि गरिएको हो, जसमा २६ जना पर्यटकको मृत्यु भएको थियो। सोही अनुरुप आक्रमणको जवाफस्वरूप भारतले यस्तो कदम चालेको बताइएको छ।भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ।
भारतको वाशिङ्टनस्थित दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आक्रमण पूर्णरूपमा लक्षित र सटीक थियो। केवल चिनिएका आतंकी शिविरहरूलाई मात्र निसाना बनाइएको हो।’
पाकिस्तानी अधिकारीहरूले भने भारतको आक्रमणमा ८ जनाको मृत्यु र ३५ जना घाइते भएको बताएका छन्। पाकिस्तानले भारतको कदमलाई गम्भीर उल्लंघनको रूपमा लिँदै कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। प्रधानमन्त्री सहबाज सरिफले भारतको आक्रमणको कडा जवाफ दिइने स्पष्ट पारेका छन्।
दुबै देशका तर्फबाट आरोप–प्रत्यारोप चलिरहेका बेला अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन आह्वान गरिरहेको छ। तनावको यो अवस्था दक्षिण एशियाको स्थायित्व र शान्तिका लागि चिन्ताजनक संकेतका रूपमा हेरिएको छ।
यसकारण राखियो ‘सिन्दूर–मिशन’ नाम
भारतले पाकिस्तानलाई आ¥क्रण गर्दाको नाम ‘अपरेशन सिन्दूर’ राख्नाको कारण जम्मु कश्मीर पहलगाममा भएको घातक आक्रमणमा धेरै नागरिकको ज्यान गएपछि, कैयौं महिला विधवा भए।
यस सन्दर्भमा, विवाहित हिन्दु महिलाहरूले परम्परागत रूपमा लगाउने रातो सिन्दूर वा रातो अबिरले गहिरो भावनात्मक अर्थ बोकेको हुनाले भारतले अपरेशनको नाम ‘सिन्दुर; राखेको भारतिय मिडियाहरूले बताएका छन् ।