श्रीअन्तु, (ईलाम) – खानेपानीमन्त्री प्रदीप यादवले प्रत्येक नेपाली नागरिकका घर घरमा धारा र धारामा सुरक्षित खानेपानी भन्ने दृढ सङ्कल्पका साथ अघि बढी रहेको बताएका छन् ।


ADVERTISEMENT


आज ईलामको श्रीअन्तु सामालबुङ खानेपानी आयोजनाको उद्घाटन गर्दै मन्त्री यादवले देशका विभिन्न ग्रामीण बस्तीमा अहिले पनि शुद्ध खानेपानीको अभावले थुप्रै समस्या देखापरेकाले ती समस्या समाधान गर्ने सरकारको प्रमुख प्राथमिकता रहेको बताए । उनले भने, “खानेपानी समस्याकै कारण देशका कयौँ ठाउँमा अहिले पनि नागरिकले बस्ती सार्नु पर्ने अवस्था छ । सरकारले खानेपानीका समस्या समाधानका लागि ठोस योजनाहरु अघि सारेको छ । खानेपानीकै लागि बस्ती सार्नु पर्ने अवस्थाको अन्त गर्छौँ ।”


ADVERTISEMENT

# # #


यसैगरी उनले सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ मा सबै नागरिकलाई स्वच्छ र गुणस्तीय खानेपानी उपलब्ध गराउने तथा सरफाइका क्षेत्रमा लगानी वृद्धि गरेर दिगो विकासको लक्ष्य हासिल गर्ने बताए ।

उनले भने, “विपद्का कारण भत्किएका खानेपानीका आयोजनाहरु र अधुरा खानेपानी आयोजनाको मर्मत गरी पानीको पहुँच वृद्धि गरी स्थानीय तह र उपभोक्ताको सहलगानीमा खानेपानी आयोजना एकीकृत रुपमा सञ्चालन गर्नेछौँ ।”

आगामी वर्ष सबै नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी पुर्‍याउने हेतुले सिङ्गो मन्त्रालय लागि परेको मन्त्री यादवको भनाई छ । “म बोलेको कुरा पुरा गर्ने व्यक्ति हुँ । म आफ्नो बाँचा अनुसार नागरिकका घर घरमा शुद्ध खानेपानी पुर्‍याउने हेतुले अहिले देशका दुर्गमदेखि सुगम ठाउँमा पुग्दैछु । नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी अवश्य पुर्‍याउछु ।”

बिगतका समयमा अधुरा रहेका र बाढीले क्षति गरेका खानेपानीका आयोजनाहरु निर्माण सम्पन्न भइरहेको उनले बताए ।

यस्तै खानेपानी तथा ढलव्यवस्थापन विभागका मानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठले ईलामको श्रीअन्तु सामालबुङ खानेपानी आयोजना अन्तर्गत सुर्योदय नगरपालिका–४ र ५ का करिब दुई हजार १३४ घरपरिवार र ११ हजार ७६९ जनसङ्ख्या प्रत्यक्ष रूपमा लाभान्वित हुने बताए ।